नेपालीलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्याएर अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा लगाइएका घटना पछिल्लो समय बढ्दै गएका छन्। मानव तस्करहरुले उनीहरुलाई त्यहाँ अवैध रुपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोहरुमा बन्धक बनाउने गरेका छन्। यसै सन्दर्भमा सोमबार कम्बोडियाका लागि नेपाली राजदूत धनबहादुर ओलीले त्यहाँकी परराष्ट्र स्थायी राज्य सचिव एवं प्रधानमन्त्रीकी निजी सल्लाहकार इत सोफियासँग भेटवार्ता गरेका छन्।
बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियालाई पनि हेर्नुपर्ने जिम्मेवारी छ। ओलीकै नेतृत्वको नेपाली टोलीले राजधानी नोम पेन्हस्थित परराष्ट मन्त्रालयमा दुई पक्षीय भेटवार्ता गरेको हो।
बैंककस्थित नेपाली दूतावासका अनुसार यस्ता अपराध रोक्न, जोखिममा परेका व्यक्तिलाई बेचबिखन र अनलाइन शोषणबाट जोगाउन, गुप्तचर तथा सूचना आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन्।
नेपाल नेत्रज्योति संघ र लुम्बिनी आँखा इन्स्टिच्युट तथा अनुसन्धान केन्द्रको संयुक्त प्रयासमा कम्बोडियाली साझेदारहरुसँगको सहकार्यमा ४ देखि ५ जुलाईसम्म कम्बोडियाका विभिन्न ठाउँमा आँखा उपचार शिविर सञ्चालन भएका थिए। सोफियाले त्यसको उच्च प्रशंसा गरेकी थिइन्।
राजदूत ओलीले आँखा स्वास्थ्यको क्षेत्रमा कम्बोडियाको क्षमता सुदृढ गर्न तालिम र अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएर सहयोग विस्तार गर्न नेपाल तयार रहेको बताएका थिए।
यो पनि: कम्बोडिया सरकारले गर्यो भिसा अवधि नाघेका ६०२ नेपाली नागरिकहरूको जरिबाना मिनाहा
Shares

प्रतिक्रिया