ad ad

राजनीति


प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोले, संसद्‍लाई जवाफ दिनुपर्छ : कांग्रेस सांसद राणा

प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोले, संसद्‍लाई जवाफ दिनुपर्छ : कांग्रेस सांसद राणा

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १८:३६, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको बताएका छन्। 

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको राणाले बताए।

बुधबार प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए।

त्यही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्रीले यसबारे संसदमा स्पष्टीकरण दिनुपर्ने मागसमेत गरे। 

एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्रीले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उनले बताए।

‘यस सन्दर्भमा प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेला केही कुरा बोल्नु भएको थियो। त्यसबारे उहाँहरुले आपत्ति जनाउनुभयो। सायद प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउस अगाडि बढाउँछौँ तर एमालेले राजीनामा खोज्यो’, उनले भने, ‘प्रधानमन्त्रीले हाउसमा आएर स्पष्ट बनाइदिनु पर्छ। निर्वाचनको ८ महिनामा पनि सरकारले राम्रोसँग काम गर्न पाएको छैन। कांग्रेस सत्ताभन्दा स्थिरतातिर केन्द्रित छ। कुनै दल सत्तातिर पनि केन्द्रित हुन्छ। तर, अहिले हामी स्थिरतातिर केन्द्रित हुन्छौँ भन्ने छ।’

राणाले प्रचण्डले त्यो बोल्न नहुने कुरा बोलेको बताए। ‘के सोचमा उहाँले बोल्नुभयो। त्यो स्पष्ट पार्नु पर्छ’, उनले भने, ‘यसबारे चाँडो आएर प्रधानमन्त्रीले स्पष्ट पारिदिनु पर्छ।’

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .