ad ad

ग्लोबल


एससीओ शिखर बैठकमा सीको सन्देश : शीतयुद्ध सुरु गर्ने बाहिरी प्रयासप्रति चनाखो रहनुस्

एससीओ शिखर बैठकमा सीको सन्देश : शीतयुद्ध सुरु गर्ने बाहिरी प्रयासप्रति चनाखो रहनुस्

नेपालखबर
असार २०, २०८० बुधबार १८:३७,

इरान सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) को पूर्ण सदस्य बनेको छ। सो मुलुक एससीओमा सहभागी हुने नवौँ सदस्य हो।

भारतले मंगलबार आयोजना गरेको एससीओको भर्चुअल शिखर बैठकपछि नयाँ दिल्ली घोषणा पत्र पनि जारी गरिएको छ। जसमा रुसमाथि राष्ट्रसंघभन्दा बाहिरबाट लगाइएका प्रतिबन्धहरुको विरोध पनि गरिएको छ।

एससीओका सदस्यहरुबीच भुक्तानी गर्न आआफ्नै राष्ट्रिय मुद्रा प्रयोग गर्ने सहमति पनि भएको छ।

त्यस्तै भारतबाहेक एससीओका सबै मुलुकले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत एक आर्थिक रणनीतिसम्बन्धी वक्तव्यमा पनि हस्ताक्षर गरेका छन्।

शिखर बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले बीआरआईको दसौँ वर्षगाँठ र उनको नयाँ ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) को उल्लेख गरे। उनले सदस्य मुलुकहरुलाई आफ्नो विदेश नीति स्वतन्त्र रुपमा बनाउन आग्रह गरे।

‘नयाँ शीतयुद्ध सुरु गर्ने बाहिरी प्रयासविरुद्ध चनाखो रहन’ पनि सीले आह्वान गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाहिरी दबाब र प्रतिबन्धहरुसँग लडिरहने उल्लेख गरे। संयुक्त वक्तव्यमा युक्रेन युद्धको उल्लेख नगरे पनि पुटिनले बाहिरी शक्तिहरुले युक्रेनलाई रुसविरोधी बनाएको र त्यहाँ हतियार आपूर्ति गरेको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको नाम नलिई केही मुलुकहरुले सीमापार आतंकवादलाई आफ्नो नीतिकै रुपमा प्रयोग गरेको आरोप लगाए।

उनले एससीओको घोषणापत्रमा उल्लेख भएअनुसार सदस्य मुलुकले एकअर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने पनि बताए।

जवाफमा पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले सानो कूटनीतिक फाइदाका लागि आतंकवादका केही घटनाको उल्लेख गर्नुको सट्टा जुनसुकै रुपको आतंकवादको भर्त्सना गरिनुपर्ने बताए।  

‘त्यसैगरी, घरेलु राजनीतिक फाइदाका लागि धार्मिक अल्पसंंख्यकहरुलाई कहिल्यै दानवीकरण गर्नु हुँदैन,’ उनले भने।

एससीओ चीन, रुस, कजाकस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तानले २००१ मा स्थापना गरेका हुन्। २०१७ मा भारत र पाकिस्तान सदस्य भए। यो वर्ष इरान सदस्य हुँदा अर्को वर्ष बेलारुस थपिनसक्ने बताइएको छ।

एससीओले विश्वको ४० प्रतिशत जनसंख्यालाई समेटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .