ad ad

राजनीति


प्रहरी पक्राउ गर्न पुग्दा ढोका थुनेर लुकेका थिए बालकृष्ण खाँण

ननिस्केपछि जबरजस्ती घरभित्र पस्यो प्रहरी
प्रहरी पक्राउ गर्न पुग्दा ढोका थुनेर लुकेका थिए बालकृष्ण खाँण

काठमाडौं प्रहरी परिसरमा बालकृष्ण खाँण। तस्बिर : उजिर कार्की


नेपालखबर
बैशाख २७, २०८० बुधबार १२:२१, काठमाडौँ

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव टेकनारायण पाण्डे वैशाख २० पक्राउ परेसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि नक्कली शरणार्थी प्रकरणमा तानिने चर्चा सुरु भएको थियो। 

हाल सिंहदरबार बृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थीसम्बन्धी प्रकरणको काम खाँणकै निर्देशनमा अघी बढाएको बयान सरकारी वकीलसमक्ष दिइसकेका छन्। 

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जोडिएसँगै अरु भीआईपी पनि तानिने आकलन थियो।

त्यही आकलनलाई सत्य सावित गर्दै खाणलाई प्रहरीले बुधबार चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरेको छ।

सोमबार रुपन्देहीको तिलोत्तमास्थित घर पुगेर फर्किएका उनले यसअघि प्रहरीकहाँ पुगेर बयान दिएको हल्ला पनि फैलिएको थियो।

तर सचिव पाण्डेको बयानका कारण खाँणलाई प्रहरीले बुधबार घरबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेको छ।

उनीसँगै उनका निजी सहयोगी नरेन्द्र केसी पनि प्रहरीको हिरासतमा पुगिसकेका छन्। बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी कमान्डको टोली खाँणको घरमा पुगेको थियो।

तर त्यसअघि नै प्रहरीले बिहानैदेखि खाँणको घरमा रेक्की गरिरहेको थियो। मंगलबार भैरहवाबाट काठमाडौं फिरेका उनी घरमै रहेको पक्का गरेपछि केसी नेतृत्वको टोली उनलाई पक्राउ गर्न घरमा छिर्‍यो। 

घरमा छिर्नेबित्तिकै खाँणका निजी सहयोगी नरेन्द्र केसीलाई प्रहरीले सुरुमै तल्लो तलाबाट गाडीमा हाल्यो। तर पूर्वमन्त्री खाँण भने माथिल्लो तलामा थिए। 

केसीलाई पक्राउ गरेर गाडीमा हालिसकेपछि माथिल्लो तलामा पसेर केसी नेतृत्वको प्रहरीले खाँणलाई बोलायो। तर म एकैछिनमा आइगएँ भनेका खाँणले ढोकाको चुकुल भित्रबाट लगाएर लुक्न पुगे। 

खाँणले कोठाभित्र पसेर ढोकाको चुकुल लगाएपछि प्रहरीले उनलाई निकै बेरसम्म बोलाइरह्यो। तर उनले आफू कुनै हालतमा बाहिर ननिस्किने अड्डी कसिरहे।

पटक पटक अनुरोध गरेर बोलाउँदा पनि आउन नमानेपछि प्रहरीले बाहिरबाट ढोका फोडेर छिरेको थियो। प्रहरी जबरजस्ती ढोका खोलेर भित्र पसेपछि पनि खाँण सजिलै बाहिर आउन मानेनन्। प्रहरीले बल नै प्रयोग गर्नुपर्ने अवस्था त्यहाँ उत्पन्न भयो। 

‘जे सोध्नु छ, मलाई यहीँ सोध्नु, म किन जानु प्रहरीकहाँ?’, पूर्वगृहमन्त्री उनले प्रहरीसँग अड्डी कस्दै भने, ‘के के कागज गर्नु छ म यहीँ गर्छु, तपाईंहरु बढ्ता आतंक नगर्नुस्।’

केसी कमान्डको टोलीले पटक पटक अनुरोध गर्दा पनि बालकृष्णले प्रहरी हिरासतमा जान मान्दै मानेनन्। 

उनले दोहोर्‍याउँदै आफूले केही नगरेको बताउँदै घरबाहिर ननिस्किने ढिपी गरिरहे। तर प्रहरीले लामो गलफत्ती गरिरहेपछि माथिबाट ल्याउनु भनेकाले हिँड्नै पर्ने दबाब दिए। 

त्यति गर्दा पनि नमानेपछि प्रहरीले उनलाई बल प्रयोग गरेर घरबाट निकालेर गाडीमा हाल्यो। प्रहरीले बल प्रयोग गरेर उनलाई अर्कै गाडीमा हाल्यो। त्यसअघि नै उनका सहयोगी केसी अर्को गाडीमा बसिसकेका थि। 

त्यहाँबाट अपराध अनुसन्धान कार्यालयका प्रमुख केसी नेतृत्वको टोलीले दुवैजनालाई अलग अलग गाडीमा हालेर टेकुस्गथित जिल्ला प्रहरी परिसरमा पठाइदियो।

जहाँ अहिले उनलाई एकजना डीएसपीको कार्यकक्षमा राखिएको छ। उनका सहयोगी केसीलाई अलग्गै राखिएको छ। दुवैलाई अब काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ। 

सम्बन्धित समाचार

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .