ad ad

राजनीति


सोमबार बिहानै किन गृह जिल्ला पुगे बालकृष्ण खाँण?

सोमबार बिहानै किन गृह जिल्ला पुगे बालकृष्ण खाँण?

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:१४, काठमाडौँ

काठमाडौंमा नक्कली भुटानी शरणार्थीको विषयमा अनुसन्धान भइरहँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने गृहजिल्ला रुपन्देही पुगेर फर्किएका छन्।

सोमबार बिहान १० बजे बुद्ध एयरको जहाजमार्फत खाँण सुरक्षागार्डसहित रुपन्देही गएका थिए। 

सोमबार काठमाडौबाट बुद्ध एयरमा टिकट नम्बर १६८८१७६९ र १६८८१७७० मा पीएसओसहित उनी भैरहवा विमानस्थल पुगेका थिए। 

खाँणको घर तिलोत्तमा नगरपालिका ८ मणिग्राम हो। आमा मणिग्राममै भएकाले आमासँग भेट गर्न खाँण घर पुगेको खाँणनिकट रुपन्देहीका कांग्रेस महासमिति सदस्य विमल ढकालले जानकारी दिए। 

उनी मंगलबार बिहान ७ बजे बुद्ध एयरको फ्लाइट नम्बर यू४ ८०६ मार्फत काठमाडौं फर्किएका हुन्। टिकट नम्बर १६८९०२९० र १६८९०२९२ बाट उनी काठमाडौं फर्किए। 

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र खाँण गृहमन्त्री हुँदा नक्कली शरणार्थी बनाएर ठगी गरिएको आरोपमा छानबिन भइरहेको छ।

खाँणकै कार्यकालका गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। 

उनलाई हिरासतमा राखेर प्रहरीले बयान लिइरहेको छ। तर खाँणविरुद्ध भने आरोप लागे पनि प्रमाण जुटिनसकेको प्रहरीले जनाएको छ।

यस्तै बादल र पूर्व गृहसचिवसमेत रहेका अख्तियार प्रमुख प्रेमकुमार राई पनि जोडिएका छन्। बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् भने इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक फरार छन्। 

यता बिचौलियाले खाँणसहित उनकी पत्नी मञ्जु, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु लगायतको पनि नाम लिएका छन्।

तर अडिओमा नाम लिइएका व्यक्तिहरुको पुष्टि हुने प्रमाण फेला परिनसकेको प्रहरीले जनाएको छ। 

यही ठगी प्रकरणमा एमाले सचिव एवम् सांसद टोपबहादुर रायमाझी भने फरार छन्। ५ दिन अघि फरार भएका रायमाझीको घरमा मंगलबार प्रहरीले छापा मारेको छ। तर रायमाझी भने फेला परेका छैनन्।

यो प्रकरणमा जोडिएका व्यक्तिसँग प्रहरीले बयान लिन थालेको छ। पक्राउ नगरिएका तर बयानमा जोडिएका व्यक्तिसँग पनि प्रहरीले बयान लिन थालेको हो। 

भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलका संयोजक र एक सदस्यको प्रहरीले बयान लिएको छ।

सोमबार काठमाडौं जिल्ला प्रहरी परिसरमा बोलाएर कार्यदलका संयोजक बालकृष्ण पन्थी र विज्ञ सदस्य गणेश केसीले बयान दिएका हुन्। 

बयानका क्रममा केसी र पन्थीले नक्कली शरणार्थी बनाएर ठगी गर्ने कार्यमा आफूहरुको कुनै संलग्नता नरहेको र बिचौलियासँग पनि सम्पर्क नभएको बताएका छन्।

गृहमन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन समेत आफूहरुले तयार गरेको नभई बिचौलियाले तयार गरेको उनीहरुको जवाफ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .