राजनीति


चित्रबहादुरको प्रश्न : जनताका छोराछोरी विदेश पठाएर देशमा ८ वटा संसद र मन्त्रिमण्डल पाल्ने?

चित्रबहादुरको प्रश्न : जनताका छोराछोरी विदेश पठाएर देशमा ८ वटा संसद र मन्त्रिमण्डल पाल्ने?

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २५, २०८० सोमबार १६:४६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय प्रणाली जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद केसीले देशको आर्थिक अवस्था टाट पल्टिँदै गएको अवस्थामा ८ ठाउँमा मन्त्रिमण्डल र संसद कसरी पाल्नुहुन्छ भनि प्रश्न पनि गरे।

‘कसरी पाल्नु हुन्छ तपाईंहरू ८-८ ठाउँ पार्लियामेन्ट ? ८-८ ठाउँ मन्त्रिमण्डल, ८-८ ठाउँ मुख्यमन्त्री? ल भन्नुस् त्यो पनि हरेक २ महिना ४ महिनामा बदली रहने’ उनले भने, ‘त्यसकारणले सबैभन्दा पहिले त यसमा हामीले विचार गरौं। यो मेरो विचार हो। मैले तपाईं हरुलाई पहिले देखिनै भन्दै आएको छु। अहिले नेपाली जनताको मनस्थिती के छ भन्दाखेरी सबैभन्दा घाँडो, सबैभन्दा पाल्न नसकिने सक्दै नसकिने संघीय प्रणाली सम्भवै छैन । कसरी कुन खर्चले तपाईं हरु धान्नु हुन्छ?’

उनले जनताका छोराछोरी विदेश पठाएर आएको रेमिटेन्सले दलका कार्यकर्तालाई तलब भत्ता खुवाउन नसकिने भन्दै संघीय प्रणाली खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित एकात्मक शासन प्रणाली कायम गर्नुपर्ने बताए।

उनले देशमा एउटा मल कारखाना समेत बनाउन नसकेको चर्चा गर्दै नेपाल जस्तो कमजोर मुलुकलाई संघीयतामा लैजानु दुस्साहस मात्रै भएको बताए।

उनले भने, ‘संविधान निर्माण गर्दा नेपालको अवस्था, नेपालको भौगोलिक अवस्था, यहाँको आर्थिक अवस्था, यो अवस्थाको कारणले नेपाल संघात्मक प्रणाली, यसले धान्नै सक्दैन यो दुस्साहस नगरौं। यो गल्ती नगरौं भनेर राष्ट्रिय जनमर्चाले एक्लै लड्यो । सबैले खिसिटिउरी गरे। यो कुराको मजाक उडाउनु भयो। अहिले सबैभन्दा बढी सबलाई संघीयता घाँडो भएको छ।’

केसीले दलहरुको सत्तामोहले जनतामा निराशा छाएको बताए। सिंहदरबारमा मात्रै देखिने सत्तालिप्सा अहिले सातवटा प्रदेशमा फैलिएको उनको तर्क छ।

‘अहिले यो संसद्को गतिविधि, यो क्रियाकलाप उत्साहजनक छैन। ४-४ महिना हुन्छ हामीले सरकारलाई पूर्णता दिन सक्दैनौं। हामीले जुनसुकै हालतमा सरकारमा जान पाउनु पर्छ, बस्नु पर्छ, भनेर एकचोटि सबै पार्टी हरु सरकारको पक्षमा फेरि चित्त बुझेन भने सबै त्यहाँबाट फेरि प्रतिपक्षमा’ उनले भने, ‘यस्तो हालतले यो व्यवस्था, यो लोकतन्त्र, यो गणतन्त्रमा कालो बादल मडारिया छ। लोकतन्त्र ल्याउने साथीहरुबाटै लोकतन्त्र खतरामा छ मैले पहिलो दिनमै भनेको थिएँ। त्यसकारणले अहिले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकैठाउँ उभिऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .