ad ad

बागमती


बालेन्द्रको ‘एक्सन’ : झस्किए इन्टरनेट कम्पनी, धमाधम आफैं तार निकाल्दै (भिडिओ)


वसन्त अर्याल
बैशाख २५ , काठमाडौँ

काठमाडौं महानगरले इन्टरनेटका तार काट्ने चेतावनी दिएपछि सेवा प्रदायकले प्रयोगमा नरहेका तारहरू धमाधम हटाउन थालेका छन्। मेयर बालेन्द्र शाहले बैशाख २७ गतेसम्म अव्यस्थित तार नहटाए महानगर आफैंले हटाउने चेतावनी दिएका थिए। सो चेततावनीपछि व्यवसायी आफैं तार हटाउन थालेका हुन्। 

आइतबार महानगरपालिकामा सरोकारवाला निकायको बैठक बसेरसोमबारबाटै (बैशाख २५) तार हटाउन सहमत भएका थिए। काठमाडौं महानगरपालिकाले जथाभावी तार काट्दा काठमाडौंमा इन्टरनेट सेवा अवरुद्ध हुने भएपछि व्यवसायी आफैं व्यवस्थापन गर्न अघि सरेका छन्। 

सोमबार काठमाडौंका मुख्य २ ठाउँबाट इन्टरनेट सेवा प्रदायक, नेपाल प्रहरी आफैंले तार व्यवस्थापन गरिरहेका छन्। नेपाल प्रहरीको सिसिटीभी तार समेत पोलमा टांगिएकाले उनीहरू व्यवस्थापनमा खटिएका हुन्।

इन्टरनेट व्यवसायीहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले सबैको संयुक्त प्रयासमा तार व्यवस्थापनको काम थालिएको बताए। 

इन्टरनेट सेवा प्रदायक संघ, नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा काम भइरहेको बताए। 

सहरी सौन्दर्यता लागि तार व्यवस्थापन गर्दै जाने योजना अन्तगर्त नै तार काट्न थालिएको बताए। इन्टरनेट सेवा प्रदायक संघले पूर्वधार कम्पनीको स्थापना गरी सह–प्रयोग गर्ने चाहेको पनि बताए। 

पर्यटकीय क्षेत्र ठमेल, सिंहदरबार वरपर, टोखा क्षेत्रमा व्यवस्थापन कार्य भइसकेको आइस्पानले जनाएको छ।

काठमाडौं महानगरपालिकासँग छलफल गरी काम अघि बढाएको उनले बताए। अहिले १२ वटा रूटमा तार व्यवस्थापनको योजना बनेको छ। 

ती मध्ये २ वटा रूटमा सोमबारबाट काम सुरु भएको हो। माइतिघरदेखी त्रिभुवन विमानस्थलसम्म र न्युरोडदेखी वसन्तपुर हुँदै असनसम्मको रूटमा सोमबारबाट काम सुरु भएको हो। 

सेवा प्रदायकले सञ्चालनमा नरहेका तारहरू झिक्न लागेका हुन्। ‘सञ्चालनमा रहेका तारलाई हानी नोक्सानी नहुनेगरी तार काटिरहेका छौं,’ सिईओ खड्काले भने, ‘इन्टरनेट अत्यावश्यक सेवा हो। जथाभावी काट्दा सिंहदरबारदेखी त्रिभुवन विमानस्थलसम्मकै सेवा ठप्पा हुन्छन्।’

अहिले कार्यविधी बनाएरै तार काट्ने काम भइरहेको आइस्पानले जनाएको छ। झुन्डिएका तारलाई क्लिपिङ गर्ने, नचाहिने तार हटाउनेगरी काम भइरहेको जनाएको छ।

हरेक कम्पनीले तारमा आफ्नो ट्याग राख्नुपर्ने  
दूरसञ्चार प्राधिकरणले तार हटाउन सबै सेवाप्रदायकलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि आग्रह गरेको छ।

नेपालमा १२७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। धेरै कम्पनीले आफ्नै तार टांग्दा अव्यवस्थित भएका छन्। 

सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्नेगरी तारमा ट्याग अनिवार्य गरेको छ। 

‘तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने,’ प्राधिकरणले उल्लेख गरेको छ।  

प्राधिकरणले १२ वटा रूट निर्धारण गरेको जनाएको छ। जसअनुसार माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वर देखि महाराजगञ्ज, न्युरोड–वसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी, डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसीसम्मका रूट छन्। 

नक्साल–बालुवाटार हुँदै शीतल निवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भु, सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला,गौशाला–बौद्वनाथ, कालिमाटी–कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थान गर्ने योजना रहेको छ। 

इन्टरनेट अवरुद्ध भए १ घण्टामा बन्ने
संवेदनशील क्षेत्रमा तार व्यवस्थापन गर्दा कुनै कारण इन्टरनेट अवरुद्ध भए ३० मिनेट देखी १ घण्टामा समस्या समाधान गर्न सकिने उनले बताए। 

तार व्यवस्थापनको प्रगतिको लागि आगामी शुक्रबार सरोकारवालाबीच समिक्षा बैठक बस्ने छ।   
आइस्पानले दीर्घकालिन रुपमा व्यवस्थापनका लागि पूर्वधार कम्पनी स्थापना गर्ने पर्ने बताएका छन्। त्यसका लागि दूरसञ्चार प्राधिकरणले नियमावलीको मस्यौदा मन्त्रालयमा पठाएको थियो। जुन लामो समयदेखी रोकिएको छ।

अहिले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि पूर्वाधार कम्पनी स्थापना गर्नुपर्ने पक्षमा छन्।

पूर्वाधार कम्पनी स्थापना गर्ने र उसले इन्टरनेटका पूर्वाधार बनाउने गर्छ। मुख्य ठाउँमा १–२ वटा तार टांग्दा पुग्छ।

त्यसबाहेक इन्टरनेटका तार अन्डरग्राउन्ड गर्न विद्युत प्राधिकरणले २ वटा तार तान्न सक्ने अवस्था रहेको छ। तर इन्टरनेट व्यवसायीले ‘अन्डर ग्राउन्ड गर्ने डक्ट’मा पहुँच नपाएको बताएका छन्।

तस्बिर/भिडिओ : सरोज नेपाल

बैशाख २५, २०८० सोमबार १६:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .