भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गरेकी छिन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहिनहरुलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताएकी हुन्।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन समेत दिइन्।
‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ। गुठीका पनि समस्याहरु छन्। काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु,’ मन्त्री श्रेष्ठले भनिन्, ‘उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जा विहिन छन्। पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ।’
उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गरिन्।
‘काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले? प्रश्न भने गम्भिर छ। त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘सहकारीबाट जनता ठगीको सुनासो छ। कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु।’
मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
Shares

प्रतिक्रिया