अमेरिकाले इरानका विदेश मन्त्री मोहम्मद जवद जरिफलाई अमेरिका प्रवेश गर्न भिसा अस्वीकार गरेको छ।
बिहीबार हुन लागेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा भाग लिन न्यू योर्क जान लागेका इरानी विदेश मन्त्री जरिफलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएको छ।
इरानले त्यसको बदला लिने घोषणा गरेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्प त्यसो गरेमा इरानमा ठूलो आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्।
त्यसयता बढ्दो तनावले ठूलो युद्ध नै निम्तिने हो कि भन्ने त्रास अन्तर्राष्ट्रिय रुपमैं फैलिएको छ।
१९४७ को राष्ट्रसंघ ‘मुख्यालय सम्झौता’ अनुसार, अमेरिकाले राष्ट्रसंघमा सहभागिताका लागि विदेशी कुटनीतिज्ञहरुलाई अनुमति दिनुपर्ने प्रावधान रहेको रोयटर्सले जनाएको छ।
‘तर वाशिंगटनले सुरक्षा, आतंकवाद र विदेश नीतिका आधारमा भिसा अस्वीकार गर्नसक्ने बताएको छ,’ समाचारमा भनिएको छ।

प्रतिक्रिया