राजनीति


छरिएका रकम जम्मा गर्न सके अर्थतन्त्र चलायमान बनाउन सकिन्छ : माधव नेपाल

छरिएका रकम जम्मा गर्न सके अर्थतन्त्र चलायमान बनाउन सकिन्छ : माधव नेपाल

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १३:३६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरू पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। 

उनले घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने पनि बताए। 

‘सहकारीको बेग्लै महत्व हुनेगर्छ। कसैले सहकारीलाई निजी भित्र राखेर दुई वटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन्। होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीन वटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन्,’ अध्यक्ष नेपालले भने, ‘तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ।’

उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताए।

उनले छरिएर रहेको रकमलाई पुँजीको रुपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताए।

‘यी तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि वहसको विषय छ। निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र बहस हुनुपर्छ,’ उनले भने, ‘हामी चाहन्छौँ घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा हुन पाए हुन्थ्यो। हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरु उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो।’

थोपा थोपाले नै विशाल समुन्द्र बन्ने नेपालको भनाइ छ। ‘थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरुसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ,’ नेपालले भने, ‘यस बीचमा आवश्यक्ता पर्दा ऋण लिन जाँदा विभिन्न क्षेत्रले ऋण लिएका मान्छेहरु समस्यामा परेको सुनिन्छ। मिटरब्याजीको समस्या पनि सुनेका छौँ। रकम लिएको भन्दा दोब्बर रुपका कागजमा हस्ताक्षर गर्छन्। जग्गा जमीन पहिल्यै धितो राखेर लिएको पाइन्छ। मिटरब्याजको नाममा भएको अत्याचारको बिरुद्धमा सरकारले कदम चालिसकेको छ।’

अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार अघि बढिसकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad