राजनीति


प्रचण्डको मत बढ्यो, विश्वास घट्यो

प्रचण्डको मत बढ्यो, विश्वास घट्यो

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०७९ सोमबार १८:४४, काठमाडौँ

प्रतिनिधि सभामा सोमबार (६ चैत्र) भएको मतदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निरन्तरताका लागि आवश्यक मत प्राप्त गरे। तर उनीप्रतिको विश्वासमा भारीमात्रामा कमी आएको छ।  

२६ पुसमा भएको मतदानमा प्रतिनिधि सभाका २ सय ६८ सांसदको विश्वास प्राप्त गरेका प्रचण्डको पक्षमा यसपटक ८९ सांसदले मतदान गर्न चाहेनन्। 

प्रधानमन्त्री प्रचण्डप्रति विश्वास जाहेर गर्दै पक्षमा  मतदान गर्ने प्रतिनिधि सभाका सांसदहरुको संख्या १ सय ७२ छ। ८९ सांसदले विपक्षमा मतदान गर्दा १ सांसद तटस्थ बसेका छन्।  

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न प्रतिनिधि सभाका १ सय ६९ सदस्यसहितका ७ दल र केही स्वतन्त्र सांसदहरुले समर्थन गरेका थिए। 

उनीहरुको समर्थनसहितको अनुरोध पत्रका आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। 

समर्थन गरेका दलमध्ये  एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जनता समाजवादी पार्टी (जसपा) का १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ गरी १ सय ६६ सांसद थिए। यसैगरी स्वतन्त्र सांसदहरु किरणकुमार साह 

(रौतहट–२), प्रभु साह (रौतहट–३) र अमरेशकुमार सिंह (सर्लाही–५) को पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा समर्थन थियो। 

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएकाले प्रचण्डले २६ पुसमा प्रतिनिधि सभाबाट विश्वासको मत लिए। 

विश्वासको मतका लागि भएको मतदानमा भने प्रचण्डले प्रतिनिधि सभाका २ सय ६८ सांसदबाट विश्वासको मत प्राप्त गर्न सफल भए। 

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा त्यसदिन २ सय ७० सदस्य अनुपस्थित थिए। 

मतदानमा सहभागीमध्ये नेमकिपा र राष्ट्रिय जनमोर्चाका १ गरी दुईजना सांसदलेमात्र मत दिएका थिएनन्। 

प्रतिनिधिसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसलेसमेत प्रचण्डलाई विश्वासको मत प्रदान गरेको थियो। 

प्रधानमन्त्री बनाउने क्रममा हस्ताक्षर नगरेको तथा विपक्षी बेञ्चमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रचण्डलाई विश्वासको मत दिने लहरमा थियो।   

तर, राष्ट्रपति उम्मेदवारका विषयमा असहमति बढ्दै जाँदा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो। 

यससँगै सरकार प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्यो। एमालेअघि अर्काे सत्तारुढ दल राप्रपाले पनि सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दुई दलले समर्थन फिर्ता लिएपछि प्रचण्ड प्रधानमन्त्री बनेको तीन महिना नबित्दै विश्वासको मत लिन बाध्य भए।

सोमबारको मतदानको परिणामले प्रचण्डप्रति प्रतिनिधि सभाका सांसदहरुको विश्वासमा उल्लेख्य संख्यामा कमी आएको देखाएको छ। अघिल्लो पटक भन्दा यसपटक उनले ९६ मत कम प्राप्त गरेका छन्। 

तर, १० पुसमा उनी प्रधानमन्त्री बनेको समय भन्दा ३ मत बढी उनले प्राप्त गरेका छन्। प्रधानमन्त्री बन्दा १ सय ६९ मत प्राप्त गरेका उनलाई यसपटक १ सय ७२ मत प्राप्त भएको हो। 

त्यसो त, उनले विश्वासको मत प्राप्त गर्दा प्रतिनिधि सभाका एकबाहेक सबै सदस्य मतदाताका रुपमा थिए। 

तर, यसबीचमा रास्वपाका रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद गुमेको छ। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएकाले थप दुई सदस्य पदपनि रिक्त छ। 

हत्या आरोपमा फरार सूचीमा रहेका महोत्तरी–१ का सांसद लक्ष्मी महतो कोइरीले पनि २६ पुसको मतदानमा भाग लिएका थिए। 

तर, त्यसपछि प्रहरीबाट पक्राउको भयले गर्दा उनी प्रतिनिधि सभामा उपस्थित हुने गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad