नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज दलहरूले आआफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्।
राष्ट्रपति निर्वाचनअन्तर्गत नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ।
त्यसअघि उम्मेदवार चयन गर्न आज नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्ना बैठक राख्दै छन्। यी दुई पार्टीले राष्ट्रपति पदमा दाबी गरेका छन्।
सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले साढे ८ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्दै छ। बैठकले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गर्ने सम्भावना छ।
उता राष्ट्रपति निर्वाचनमा सत्ता साझेदार दल माओवादी केन्द्रसहित ८ दल एकजुट भएपछि निराश सत्तारुढ नेकपा एमालेले राष्ट्रपति पदका लागि आफ्ना तर्फबाट छुट्टै उम्मेदवार चयन गर्ने तयारी गरेको छ। त्यसका लागि एमालेले अहिले बिहान ९ बजे सचिवालय बैठक राख्दैछ।

बैठकले गत पुस १० गते बनेको सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले अब कसरी अघि बढ्ने भन्नेबारे पनि निर्णय गर्नेछ। पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति पद आफ्नो पार्टीले पाउने दाबी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका थिए। तर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि नयाँ गठबन्धन बन्ने भएको हो।
Shares

प्रतिक्रिया