राजनीति


एमाले भन्छ– हामीलाई सत्ताबाट हटाउने कांग्रेसको योजनामा प्रचण्ड फसे

एमाले भन्छ– हामीलाई सत्ताबाट हटाउने कांग्रेसको योजनामा प्रचण्ड फसे

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २२:१४, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले विरोधी मोर्चा बनाएर सत्ताबाट हटाउने प्रयास भएको बताएका छन्। शुकबार बनेको ८ दलीय मोर्चा एमालेलाई सत्ताबाट हटाउन बनेको उनको भनाइ छ ।

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र देशी/ विदेशी षड्यन्त्रमा फसेको उनले बताए। एमालेलाई सरकारबाट हटाउन नयाँ गठबन्धन बनेको र यसले नेपालको वामपन्थी आन्दोलनलाई निकै पछि धकेलेको उनले बताए।

'आज बनेको मोर्चा एमाले विरोधी मोर्चा हो,' उनले नेपालखबरसँग भने, 'काङ्ग्रेसले एमालेलाई सरकारबाट बाहिरियोस् भन्ने योजना अनुसार चालेको कदममा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड फस्नुभयो।'

नयाँ गठबन्धन बनेपछि एमाले स्वत: बाहिरिन्छ भन्ने मनोविज्ञानले काम गरेको र अब काङ्ग्रेसलाई सत्तामा ल्याउनैपर्ने दबाबमा प्रधानमन्त्री परेको उनले बताए।

'मूल कुरा अब गठबन्धनको नेतृत्व काङ्ग्रेसको हातमा गयो,' उनले थपे, 'वाम गठबन्धन औपचारिक रुपमा भत्कियो।'

सरकारबाट बाहिरिनेबारे शनिबार १३ फागुनमा बस्ने सचिवालय बैठकले निर्णय गर्ने उनको भनाइ छ।

'हेरौँ अब कसरी जाने भन्ने निर्णय गर्न भोलि शनिबार सचिवालय बैठक छ,' ज्ञवालीले थपे, 'अहिलेसम्म भएका  छलफल र वार्ताबारे अध्यक्षले बैठकमा राख्नुहोला। अब नयाँ ढंगले अगाडि बढ्ने निर्णय पनि हुनसक्छ।' 

त्यो भनेको सरकार छोड्ने र संगठन विस्तारमा लाग्ने हुन सक्ने उनको भनाइ छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली  काङ्ग्रेस, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा मिलेर राष्ट्रपतिमा काङ्ग्रेसका उम्मेदवार र उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।

सो निर्णय मुलुकलाई समस्यामा पार्ने खालको रहेको उनले बताए।

'एमालेलाई जबर्जस्ती हटाउने गरी लागेको देखिन्छ। यसले ३२ सांसद भएको माओवादीलाई पनि सजिलो बनाएन,' उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad