ad ad

राजनीति


३१ हजारभन्दा बढी मतभारका साथ विजयी हुनेछन् राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार

३१ हजारभन्दा बढी मतभारका साथ विजयी हुनेछन् राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २०:११, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि शुक्रबार (१२ फागुन) मा बनेको आठ दलीय गठबन्धनको निर्णयसँगै राष्ट्रपतिमा कांग्रेसले खडा गर्ने उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ। 

शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। 

१० पुसमा भएको समझदारी अनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अडान एमालेले नछाडेपछि माओवादी केन्द्रले कांग्रेसलाई सघाउने निर्णय गरेको हो। कांग्रेस–माओवादीसहित उल्लेख्य मतभार रहेका दलहरुको गठबन्धन बनेपछि यो गठबन्धनका उम्मेदवार ३१ हजार भन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिएको छ। 

संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको मतभार १६ हजार २ सय २१ छ भने माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ। यसैगरी एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ। 

यी सबै मतभारहरुको कूल योगफल ३१ हजार ६७ हुन आउँछ। 

यो गठबन्धनमा अन्य अन्य दलहरुपनि मिसिए भने निर्वाचनमा कांग्रेस उम्मेदवारले अझ बढी मत हासिल गर्नेछन्। आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत केही स्वतन्त्र सांसदहरु पनि यही गठबन्धनका समर्थक रहेकाले कांग्रेस उम्मेदवारको मत अझ बढ्ने सम्भावना रहन्छ। 

राष्ट्रपति निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनमा कुन कुन दल सामेल हुन्छन्, त्यो निश्चित छैन। तर, हालसम्म राप्रपा, रास्वपा एमाले निकट देखिन्छन्। 

राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेको राप्रपाले भने राष्ट्रपति निर्वाचनमा आफ्ना दलका सांसदहरुको कुनै दलको उम्मेदवारको प्रस्तावक–समर्थक नबस्ने निर्णय गरेर निर्वाचनमा भाग नलिने संकेत दिएको छ। 

राष्ट्रपति निर्वाचनका लागि एमालेको मतभार १५ हजार २ सय ३३ छ भने राप्रपाको २ हजार ४ सय ५०, रास्वपाको १ हजार ५ सय ८० मतभार छ। 

गठबन्धन निरपेक्ष रहँदै आएको नेमकिपाको मतभार २ सय २३ छ। यसैगरी स्वतन्त्र सांसद पक्षको ९ सय ७१ र प्रदेश सभामा एक सिट (मधेश प्रदेश) मात्र रहेको नेपाल संघीय समाजवादी पार्टीको ४८ मतभार रहेको छ। 

राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुन संविधानको धारा ६२ (३) ले निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत आवश्यक पर्ने उल्लेख गरेको छ। पहिलो निर्वाचनमा कुनै उम्मेदवारले बहुमत हासिल नगरे सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ। 

यसरी हुने दोस्रो निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत हासिल गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था धारा ६२ ९४० ले गरेको छ।

कुनै उम्मेदवार राष्ट्रपतिमा विजयी हुन २६ हजार ३ सय ९४ मतभार आवश्यक पर्छ। तर, शुक्रबार बनेको गठबन्धनको पक्षमा ३१ हजार भन्दा बढी मतभार रहेकाले कांग्रेस उम्मेदवार भारी मतका साथ विजयी हुने सम्भावना देखिएको छ। 

राष्ट्रपतिमा कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ, त्यो भने एकिन छैन। चर्चामा भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .