सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्यालले नेपालको संघीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराए।
सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको उल्लेख गरे।
नेपाल र साउदी अरेबियाबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा साउदी अरेबिया सहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताए।
अर्यालले नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृति तथा नेपालीहरूको आतिथ्यभावका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे।
सो अवसरमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताए। उनले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरे।
Shares

प्रतिक्रिया