नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिको रोहबर मात्रै अधिवेशन गर्न नेपाली जनसम्पर्क समितिहरूलाई निर्देशन दिएको छ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले विदेशमा रहेका आफ्ना जनसम्पर्क समितिलाई केन्द्रीय प्रतिनिधिको रोहबर अधिवेशन गराउन निर्देशन दिने निर्णय गरेको हो। अधिवेशनको मिति तय भएपछि जानकारी गराउन पनि निर्वाचन समितिले निर्देशन दिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
निर्वाचन समितिको निर्णयमा भनिएको छ, ‘जनसम्पर्क समितिको अधिवेशनको मिति तय भएपश्चात समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन तथा केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गर्नु गराउनु हुन विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गर्ने निर्णय गर्दछ।’
कांग्रेस केन्द्रीय कार्यसमितिले आउँदो १५औँ महाधिवेशनका लागि जनसम्पर्क समितिहरूलाई साउन मसान्तभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा केन्द्रीय निर्वाचन समितिले निर्देशन जारी गरेको हो।

Shares

प्रतिक्रिया