राष्ट्रपति पद हात पार्न दलहरुबीच दाउपेच चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर बाह्रबुँदे समझदारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
‘बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन शक्ति एक ठाउँमा थियौँ, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो,’ ८ फागुनमा पोखरामा पार्टीको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन।’
प्रचण्डले यसो भनेर राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सार्न खोजेको कतिपयले अड्कल गरेका छन्। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेका तत्कालीन महासचिव नेपालले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतमै पुगेर माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईसँग भेट गरेका थिए। त्यही जगमा १२ बुँदे समझदारी मार्फत् जनआन्दोलन हुँदै नेपालमा गणतन्त्र स्थापना भएको हो।
उसो त एमालेले नै नेपालको नाम प्रस्ताव गर्ने सम्भावना रहेको प्रचण्डले आइतबार कांग्रेसका नेताहरुसँग बताएका थिए।
ओलीको ‘प्लान बी’ नेपाल
सत्तारुढ एमालेले राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडान लिइरहेको छ। पुस १० मै राष्ट्रपति र सभामुख आफ्नो पार्टीलाई दिने माओवादीसँग समझदारी भएरै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको उसको तर्क छ।
यसकै लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारदेखि बालकोटसम्म २३ पटक भेट भइसकेको छ। हरेक भेटमा राष्ट्रपतिकै विषयमा चर्चा चलेको दुई नेताका सचिवालयले बताइरहेका छन्। तर अझै कुरा मिलेको छैन।
एमालेलाई राष्ट्रपति दिन प्रचण्ड तयार छैनन्। यही कारण सत्ता गठबन्धन धरमराएको विश्लेषण भइरहेको छ।
एमालेका नेताहरु अहिलेको राजनीतिक घटनाक्रमलाई अध्ययन गरिरहेको बताउँछन्। एमालेका दोस्रो तहका नेताहरुले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलका विभिन्न तहका नेताहरुसँग छलफल र वार्ता गरिरहेका छन्।
एमालेबाट राष्ट्रपति बन्ने अवस्था नभए अध्यक्ष ओलीले ‘प्लान बी’ का रुपमा नेपालको नाम अघि सार्नसक्ने नेताहरु बताउँछन्।
एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अन्य दलका नेताभन्दा माधव नेपाललाई राष्ट्रपतिमा स्वीकार गर्न सहज हुने बताए।
‘राजनीतिमा आकस्मिकताले कतिपय रणनीति बनाउँछ,’ गुरुङले नेपालखबरसँग भने, ‘हामीलाई रामचन्द्र पौडेल वा महन्थ ठाकुर हुनुभन्दा माधव नेपाल नै बेस।’
तर, त्यसका लागि नेपाल सत्तारुढ गठबन्धनमा आउनुपर्ने उनको भनाइ छ।
‘माओवादीमा हाम्रो पार्टीप्रति देखिएको केही संशय मेटाउने प्रयास गर्छाैँ। यदि त्यसो गर्दा पनि हाम्रो राष्ट्रपति नहुने भए काउन्टर प्रस्ताव माधव नेपाल नै हुन सक्नुहुन्छ। यसमा सर्त भनेको यही गठबन्धनमा आउनुपर्छ,’ गुरुङले भने।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी अहिले विपक्षमा छ।
कांग्रेसले भने रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरुलाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत गरेको छ। प्रचण्डलाई प्रधानमन्त्री नबनाएकोले झण्डैझण्डै सबैकुरा गुमाउन पुगेको कांग्रेस राष्ट्रपति चुनावसँगै सत्तामा फर्किन कोसिस गर्दैछ। उसले विगतमा गल्ती भएको स्वीकार्दै प्रचण्डसँग मिलेर जाने प्रस्ताव गरिसकेको छ।
राष्ट्रपति बन्न माधव नेपाल तयार
एमाले अध्यक्ष ओलीले राष्ट्रपति बनाउन प्रस्ताव गरे नेपाल तयार रहेको उनीनिकट एकीकृत समाजवादीका नेताहरू बताउँछन्। तर, त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनीहरूको भनाइ छ।
‘माधव कमरेडलाई राष्ट्रपतिमा प्रस्ताव गरे उहाँ तयार हुनुहुन्छ,’ एकीकृत समाजवादीको पदाधिकारी समेत रहेका ती नेताले नेपालखबरसँग भने, ‘त्यसमा एमाले र माओवादी प्रस्तावक र कांग्रेस समर्थक बन्नुपर्छ।’
‘राष्ट्रिय सहमति जुटाउनेगरी तीनै दलको साझा उम्मेदवार हुने भए मात्र उहाँ अघि बढ्नुहुन्छ, नत्र राजनीतिलाई दाउमा राख्ने कुरा हुँदैन,’ उनले थपे, ‘उहाँजस्तो व्यक्तिलाई राष्ट्रपति मान्न कांग्रेस तयार नभए ‘डिजास्टर’ हुन्छ। विगतमा पनि ठूलो जोखिम मोलेर माधव नेपालले संकटको समाधान दिनुभएको हो।’
तर, उनले एमाले र कांग्रेस दुवै एकै ठाउँमा उभिने सम्भावना कम रहेको बताए।
‘कांग्रेसलाई सहमत गराउने प्रयत्न त हुन्छ। त्यसो हुँदा राष्ट्रपतिमा माधव नेपाल साझा उम्मेदवार बन्नुपर्छ। तर, दुई ठूला दलहरुको प्रतिस्पर्धाले एकै ठाउँ उभिन तयार हुन्छन् जस्तो लाग्दैन,’ पदाधिकारीका ती नेताले भने।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले राष्ट्रपतिको उम्मेदवारबारे छलफल अझै पात्र विशेषमा नगएको बताए।
अध्यक्ष नेपाल पनि अझै एमालेसँग ढुक्क हुन सकेका छैनन्।
सोमबार दिउँसो (८ फागुन) प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा डेढ घण्टा छलफल भएको छ।
‘एमालेलाई राष्ट्रपति दिएर जान सकिँदैन,’ प्रचण्डसँग नेपालको भनाइ उधृत गर्दै नेपालनिकट नेताले भने, ‘त्यो कुरा पहिलेका घटनाले देखाइसक्यो। आफ्नो अडान नछाड्नु होला, हामीले पनि तपाईंलाई विश्वासको मत दिएका छौँ।’
‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ, यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने काम प्रधानमन्त्रीले गर्नुपर्छ,’ नेपालले भने, ‘मेरो नाममा चर्चा छ तर अन्तिम टुंगोमा पुर्याउने प्रधानमन्त्रीकै कुरा हो।’
एमालेले माधव नेपाललाई पार्टी एकता गर्नेगरी राष्ट्रपति बनाउनसक्ने सम्भावना पनि छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता गर्न कार्यदल बनेको छ। सोही कार्यदलले एक दुई चरण छलफल पनि गरेको थियो।
माओवादीसँगको एकताबारे माधव नेपालले प्रचण्डसँग भने, ‘हामीबीचको सम्बन्ध बलियो होस्, असमझदारी केही कुरामा नहोस्, लामो यात्रामा जाऔँ भन्ने कुरामा छलफल भयो।’
प्रतिक्रिया