राजनीति


राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

नेपालखबर
माघ २१, २०७९ शनिबार १७:२८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको पनि उनले बताए। 

उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए। ्सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको उनले बताए। 

‘पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रिय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ। किनभने २ महिना भित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ,’ पौडेलले भने, ‘त्यसपछि हामी केन्द्रिय समितिको बैठक बसेर अघि बढ्छौँ। त्यसको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ। सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ।’

सबै पक्षसँग छलफल गर्नका लागि माओवादी केन्द्र खुला रहेको उनले बताए। 

‘प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो। गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौँ। एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो,’ उनले भने, ‘समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ।’

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए। 

पार्टी संगठन सदृढीकरणका लागि दुइृ महिने संगठन सुदृढीकरणको अभियान चलाउने उनले बताए। 

यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए।

‘सुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरुले केही प्रस्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरुले भाग लिनुभयो। त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गरौँ’, उनले भने, ‘आज यसको निस्कर्ष निकालेका छौँ। २ महिनापछि सिसिको बैठक बस्ने, सम्पूर्ण निर्णय सिसिले गर्ने भन्ने निर्णय भयो। सबै फिल्डमा जाने र सिसिको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो।’

चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने निर्णय भएको पनि उनले बताए। 

‘माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरुको समन्वय समितिको बैठक बस्ने, र् त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने निर्णय भएको छ,’ उनले भने, ‘अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रुपमा केही निर्देशन र केही वक्तव्यहरु छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ।’

उपाध्यक्ष महराले पार्टी संग७न सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad