सर्वोच्च अदालतको फैसलासँगै शुक्रबार गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले सरकारी निवास भने अझै छाडेका छैनन्। शुक्रबारदेखि नै हरिहरभवनस्थित सरकारी निवासमा नगए पनि उनले निवासमा रहेका आफ्ना सामान नसारेका हुन्।
‘उहाँले आफ्ना लगाउने कपडा त्यसै दिन गाडीमा लैजानुभयो। तर अन्य सामान यहीँ छ, यहाँ नआए पनि निवास छाड्नुभएको छैन’, सुरक्षा स्रोतले नेपालखबरसँग भन्यो।
नागरिकता वैधानिक नभएसँगै उनले सबै वैधानिकता गुमाउने भए पनि पूर्व गृहमन्त्रीले पाउने सुरक्षा अझै लिइरहेका छन्। सरकारी गाडी त्यसै दिन छाडेका छन्। तर निजी सवारीमा पनि सुरक्षाकर्मी लिएर हिँडिरहेका छन्।
यता निवास नछाडेका रविले पुनः गृहमन्त्रीकै रुपमा फर्किन जोड गरिरहेका छन्। शुक्रबारको फैसलाको पूर्णपाठ आइसकेको छैन। फैसलाको पूर्णपाठमा उनको नागरिकता र राहदानीबारे विस्तृत खुल्ने भए पनि त्यसअघि नै उनले गृहमै फर्किन जोड गरिरहेका छन्।
अन्य मुद्दाबाट जोगिन रविले गृहमन्त्रालय नै जान खोजेको भन्दै आलोचना भइरहेको छ। रविले आइतबार पुनः नोपाली नागरिकता लिएका थिए। नागरिकता लिएलगत्तै राहदानी त्यागे पनि उनलाई दोहोरो नागरिकता, झुटो विवरण बुझाएर राहदानी लिएको जस्ता मुद्दामा अझै अनुसन्धान र कारबाही हुने सम्भावना छ।
तर यी कारबाही छल्न रवि गृहमन्त्रालयमै फर्किन जोड गरिरहेकाले निवासबाट सामान पनि नसारेका हुन्। रविलाई पुनः गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि सत्ता साझेदार दलहरुबीच सहमति भइसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय माओवादीले नै लिनुपर्ने पक्षमा छन्।
रवि सांसद नरहेकाले ६ महिनाभन्दा बढी समय मन्त्री हुन पाउँदैनन्। तर चितवन क्षेत्र नं २ मा पुनः निर्वाचन हुने भएकाले रवि फेरि उम्मेदवार बन्ने तयारीमा छन्।
Shares

प्रतिक्रिया