जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले संघीयता बलियो बनाउनपर्नेमा जोड दिएका छन्।
मंगलबार संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको पक्षमा धारणा राखेका राईले सबैखालको विभेदको अन्त्य हुनुपर्ने बताए। ९ वर्षपछि उनले संसदमा सम्बोधन गर्ने अवसर पाएका हुन्।
२०७० को दोस्रो संविधानसभा चुनावमा संघीय समाजवादी पार्टीबाट उनी समानुपातिक सांसद चुनिएका थिए ।
राई नेकपा एमालेबाट २०४८ र २०५१ को प्रतिनिधिसभामा खोटाङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट चुनाव हारेपछि राईले मंगलबारको विश्वासको मतको पक्षमा आफ्ना धारणा राखेका हुन्।
‘जसपाले विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘अर्थतन्त्र चुनौति, सामान्य मात्र होइन बौद्धिक जनशक्ति पनि पलायन। विभेदकारी व्यवस्था कायम। ऐन कानुन, विधि विधानमा विभेद रहेको अवस्थामा संसदले ध्यान दिनुपर्छ। विभेद अन्याय हुन् र जुनसुकै क्षेत्रमा भएको भए पनि अन्त्य हुनुपर्छ र त्यसतर्फ हामीले काम गर्नुपर्छ ।’
संघीय परिषद् अध्यक्ष राईले संविधानका राम्रा पक्षमा काम गर्नुपर्ने बताए।
‘प्रदेशले काम गर्न सकेका छैनन्, मुख्यमन्त्रीहरुले संघीयतालाई काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने आवश्यक छ,’ राईले थपे। उनले कर्मचारी तन्त्रले इमान्दार भएर काम गर्नुपर्ने र त्यसका लागि सरकारले काम गर्न सुझाव दिए।
‘हाम्रो कर्मचारी तन्त्रले काम गर्न सकेन। राजस्व उठेन, काम गर्न सकिएन एउटा कुरा हो तर, भएको विकास खर्च पनि ७० प्रतिशत माथि भएन,’ उनले भने, ‘प्रक्रियामुखी होइन, काम कम हुने खालकोे कर्मचारी तन्त्रलाई हामीले कार्यमुखी बनाउनेपर्ने आवश्यकता टड्कारो छ।’
Shares

प्रतिक्रिया