राजनीति


उपसभामुख तुम्बाहाङ्फेले शुक्रबार राजीनामा दिने

उपसभामुख तुम्बाहाङ्फेले शुक्रबार राजीनामा दिने

नेपालखबर
पुस १०, २०७६ बिहिबार १०:२८,

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले शुक्रबार पदबाट राजीनामा दिने भएकी छन्।

 सभामुखको विषयमा के गर्ने भनेर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बिहीबार दिउँसोसम्म सहमति नभए  भन्दै  उपसभामुख तुम्बाहाङ्फेले राजीनामाको विषय पछि सारेकी हुन्।तुम्बाहाङ्फेले अध्यक्षद्वयबीच सहमति भएपछि मात्रै राजीनामा दिने उनीनिकट स्रोतले जनाएको छ ।

‘सभामुखको विषयमा दुई अध्यक्षबीच सहमति भैसकेको छैन। अध्यक्षबीच सहमति भएपछि मात्रै उहाँले राजीनामा दिनुहुन्छ’ स्रोतले भन्यो, ‘त्यसैले राजीनामा शुक्रबार  सदन सुरु हुनुभन्दा अगाडि नै आउन सक्छ।’ यसअघि उपसभामुख तुम्बाहाङ्फेले हिउँदे अधिवेशनको दोस्रो बैठक अगावै राजीनामा दिने बताएकी थिइन्। प्रतिनिधिसभाको दोस्रो बैठक शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ। बुधबार चितवन गएका अध्यक्ष प्रचण्ड  बिहीबार साँझ फर्कने र त्यसपछि दुई अध्यक्षबीच छलफल हुने नेकपाले जनाएकाे छ।

अध्यक्षद्वयबीच बिहीबार साँझसम्म छलफल हुने र त्यसमा कुनै सहमति हुने सूचना पाएर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने समय एक दिन पर सारेको स्रोतको भनाई छ।

 संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद खाली छ।सभामुख पद रिक्त भएपछि उपसभामुख पनि रिक्त गराउन तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाएर सभामुख र उपसभामुखको निर्वाचन गर्न लागिएकाे हो। 

कानुनी र संवैधानिक कारण एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने प्रावधान छ। जसकारण उपभामुख डा. तुम्बाहाङ्फेले राजीनामा दिएर निर्वाचनको बाटो खोलिदिन लागेकी हुन्।

यसअघि नेकपाले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरे पनि उनले आफू सभामुखको दाबेदार रहेको बताएर राजीनामा दिएकी थिइनन्। हिउँदे अधिवेशनको पहिलो बैठक उनले सञ्चालन गरेकी थिइन।

यस्तै उपसभामुख डा. तुम्बाहाङफेले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी विद्या भट्टराईलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन्।

नेकपाले सभामुख लिने बारेमा निर्णय गर्नको लागि उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले बताए।

उपसभामुख तुम्बाहाङ्फेले नेकपाभित्रै कसलाई सभामुख बनाउने भन्ने टुंगो नलागेकाले राजीनामा दिन ढिलाई गर्दै आएकी थिइन्। आफू उपसभामुख चलाएको र कानुनको समेत जानकार भएका कारण रिक्त सभामुखमा आफ्नो दाबी रहेको उनले बताएकी थिइन। तर, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड उनलाई सभामुख बनाउन तयार नभएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेकी हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad