ad ad

राजनीति


अजम्बर काङमाङ : समानुपातिकको पहिलो नम्बरमा भएर पनि माओवादीले बनाएन सांसद

अजम्बर काङमाङ : समानुपातिकको पहिलो नम्बरमा भएर पनि माओवादीले बनाएन सांसद

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ११:५०, काठमाडौँ

कुनै बेला नेकपा एमालेमा सम्भवाना बोकेका एकजना नेताका रुपमा चिनिन्थे अजम्बर काङमाङ।

नेकपा एमालेको भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्षसमेत बनिसकेका उनी अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीतर्फ लागेपछि उतारचढावपूर्ण राजनीति सुरु भयो।

राई नेतृत्वको पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा उनी केन्द्रीय सदस्यको हैसियतमा थिए। पार्टी एकता हुँदा पाएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि उनले सचिवको जिम्मेवारी पाएका थिए। 

तर संघीय समाजवादी फोरम केन्द्रीय सचिव राई २०७४ मा नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। त्यसपछि एमाले र माओवादी एक हुँदा उनी नेकपाको केन्द्रीय सदस्यको भूमिका रहे।

तर नेकपा विभाजित भएपछि उनी पुरानो पार्टी एमालेतिर फर्किएनन्। माओवादीमै बसेर राजनीति अघि बढाए। 

संघीय समाजवादीमा रहँदा उनी नेपाली कांग्रेसको समर्थनमा भोजपुर प्रदेश सभामा ‘क’ बाट चुनाव लडेर हारेका थिए। त्यसबेला उनी एमाले नेता राजेन्द्र राईसँग नराम्ररी पराजित भए। तर यो पटकको निर्वाचनमा उनी माओवादीबाट समानुपातिक सूचीमा परेपछि एमाले छाडेका उनै राजेन्द्र राईलाई जिताउन सक्रिय भए।

करि २ महिना गृहजिल्ला भोजपुरमै बसेर सत्ता गठबन्धनका उम्मेदवाहरुलाई जिताउन सक्रिय उनी आफू आदिवासी जनजाति पुरुषतर्फ माओवादी केन्द्रबाट पहिलो नम्बरमा रहेकाले समानुपातिक सांसद बन्ने विश्वासमा थिए।

एमाले छाडेदेखि निरन्तर संसदीय राजनीतिमा फर्किन चाहेका उनको प्रयास यो पटक पनि विफल भयो। माओवादीले प्रत्यक्षतर्फ भोजपुरमा सुदन किरातीलाई टिकट दियो। उनले कांग्रेसको पनि मत लिएर चुनाव जितिसकेका छन्।

तर गठबन्धनलाई जिताउन ठूलो मिहिनेत गरेका अजम्बर सूचीको पहिलो नम्बरमा रहेर पनि माओवादीबाट पत्याइएनन्। बरु मा‌ओवादीले आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी भोजपुरकै दुर्गा राईलाई समानुपातिक सांसद बनाइदियो।

अनि भेटे प्रचण्ड
गठबन्धन जिताउन मिहिनेत गरे पनि समानुपातिक सांसद बन्न नसकेर निराश उनले आइतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। 

भोजपुरकै अर्का मा‌ओवादी नेता सावित्री काफ्ले 'समर'लाई लिएर अजम्बर आइतवार खुमलटार छिरेका थिए।

जहाँ पुगेपछि उनले आफूलाई समानुपातिक सांसद बनाइदिनु भनेर प्रचण्डलाई कहिले नभनेको बताएका छन्। सूचीको पहिलो नम्बरमा रहेकाले सांसद हुनेमा ढुक्क उनले खुमलटारमा आफ्ना कयौँ गुनासा पनि पोखेका छन्। 

'प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म पनि अटाएकै थिएँ। हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ', उनले आइतवार भनेका छन्, 'पठाइने नामको सूची बनाउन छलफलरत अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दबाब पर्ला भनेर आजभन्दा अगाडि भेट्न गइनँ। आज चाहिँ जानै पर्छ भन्ने लाग्यो। अनि समर र म खुमलटार गएर अध्यक्षलाई भेट्यौँ।'

त्यहाँ प्रचण्डले उनलाई अनेकौं प्रयत्नका बावजुद सांसद बनाउन नसकेको सुनाएक थिए। 

'अनेकौँ प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन। सानो मन नगर्नु होला,' प्रचण्डको भनाइ उद्धृत गर्दै उनले सुनाए, 'नाङ्गो पैतालाले आगोको कोइला कुल्चँदै हिँड्न अभ्यस्त मैले भनेँ, म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ। तर उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो।'

उनले सांसदको सिफारिसमा नपरे पनि प्रचण्डसँग कुनै गुनासो नरहेको बताएका छन्।

'मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झझर्राउँदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ। हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो', उनले भनेका छन्, 'बालहठझैँ मैले मेरा आक्र‍ोश पोख्दै रुँदै कराउँदै गर्नुपर्ने, म त्यस्तो नगरी परिपक्व राजनीतिज्ञको रुपमा प्रस्तुत भएँ।'

उनले प्रचण्डले भनेपछि आफू सम्हालिएको तर्क पनि गरेका छन्।

'तपाईंले मलाई बधाई दिन पाउनु भएन। ठीकै छ। गोरखा निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ,' आफ्नो भनाइबारे उनले सुनाए, 'बिदाइको कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मूलगेटमा कुन लयमा फर्किसकेको थाहै भएन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .