ad ad

राजनीति


एकताको सन्देश दिनेगरी चार दलले किन निकाले संयुक्त वक्तव्य?

एकताको सन्देश दिनेगरी चार दलले किन निकाले संयुक्त वक्तव्य?

सागर न्यौपाने
मंसिर २०, २०७९ मंगलबार २२:२१, काठमाडौँ

असोज २२ गते अन्तिम बैठक बसेर गठबन्धन दलले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्र बाँडफाँट गरे। नेपाली कांग्रेसले ९१, माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादी पार्टीले १९, लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले ७ र राष्ट्रिय जनमोर्चा २ सिटमा उम्मेदवारी दिने सहमति गरेर उनीहरु चुनावमा होमिए।

चुनावमा गठबन्धनले सोचेजसरी बहुमत आएन। तथापि, सिट बाँड्न अन्तिम पटक गठबन्धनको बैठक बसेको ५८ दिनपछि लोसपाबाहेकका चार दलबीच फेरि छलफल सुरु भएको छ। यसपटक उनीहरु सरकार बनाउन आवश्यक सिट पुर्याउने गृहकार्यमा लागेका छन्।   

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावपछिको पहिलो गठबन्धनको बैठकले थप एकताबद्ध हुने निर्णय गर्दै चार दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित संयुक्त विज्ञप्ति जारी गर्यो।

‘गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौँ,’ वक्तव्यमा भनिएको छ, ‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’

केन्द्रको निर्देशन पालना नहुँदा कतिपय ठाउँमा पराजय भोग्नुपरेको समेत गठबन्धन बैठकले निष्कर्ष निकालेको देखिन्छ।

‘निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयंगम गर्दै हामी गम्भीर समीक्षाका साथ अघि बढ्ने छौँ,’ वक्तव्यमा उल्लेख छ, ‘निर्वाचनका दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए।

निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ।’

सिद्धान्तमा आकाश–जमिन फरक रहेका चार दलले विज्ञप्ति निकालेर आफूहरु एकतावद्ध रहेको किन बताए त?

चुनावबाट आएको जनमत अनुसार कुनैपनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन। नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको छ। गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादीका नेताहरु मात्र होइन, नेकपा एमालेले समेत सरकार निर्माणको प्रयासमा भेटवार्ता तीव्र पारेको छ।

बहुमत पुर्याउन कुनै पनि बेला वामपन्थी दलहरु मिल्न सक्ने वातावरण बनिरहेकै बेला गठबन्धनको बैठक बसेर सार्वजनिक विज्ञप्तिले के सन्देश दिन खोजेको हो त? 

नेताहरुका अनुसार विज्ञप्ति निकाल्नुमा कांग्रेसका तीन उदेश्य छन्।

पहिलो, गठबन्धन एक राखेर कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको चुनाव जित्न चाहन्छन्। 

दोस्रो, यही अवस्थामा गठबन्धनका दलहरुलाई अन्यत्र जान दिएको अवस्थामा पाँच वर्षका लागि पाइने सबैतिरको शक्ति फुत्कने कांग्रेसको विश्लेषण छ। त्यही शक्ति आर्जन गर्न कांग्रेस अहिले गठबन्धनको पक्षमा उभिने मात्र होइन, कांग्रेस संस्थापन पक्षले गठबन्धनको विकल्प नभएको ठहर गरेको छ।  

वक्तव्य निकाल्न कसरी सहमत भए तीन कम्युनिस्ट?
सोमबारको बालुवाटार बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताएअनुसार चुनावमा कांग्रेसको मत ट्रान्सफर नभएको विषयले बैठकमा प्रवेश पाएको थियो। केही नेताहरुले कांग्रेसबाट खुलेआम असहयोग भएको समेत बताएका थिए।

यसबारे सभापति देउवाको भनाइले उनीहरु वक्तव्य निकाल्न सहमत भए।

‘कांग्रेसको मुख्य नेतृत्व इमान्दार ढंगले लागेको रहेछ, उनीहरुभित्रको एउटा समूह असहयोग गर्न लागेको भन्ने उहाँको जवाफ थियो,’ एक नेताले भने, ‘मूल नेतृत्व गठबन्धनकै पक्षमा छ भने एकता नचाहने पक्ष जो अल्पमतमा छ, उनीहरुको कामलाई इस्यु बनाएर किन बस्ने भन्ने भयो।’

नेताहरुका अनुसार सरकार बनाउन गठबन्धन दलसँगै झण्डै बहुमत संख्या छ। 

‘झण्डै बहुमत आएको छ, सरकार बनाउनैपर्छ, यहीँ भित्रबाट सरकार बनाउन पहल भइरहेकै छन्,’ ती नेताले भने, ‘अहिले सबैभन्दा बढी बाह्य चलखेल भइरहेको छ। कांग्रेसभित्र एउटा खतरनाक लबी हाबी हुन खोज्दैछ, त्यो रोक्न र अहिलेको व्यवस्था जोगाउन पनि यही गठबन्धनको निरन्तरता दिन सहमत भइएको हो।’

‘कांग्रेसको एउटा तप्का राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले, राप्रपा जस्ता शक्तिसँग मिलेर गणतन्त्र र संघीयतामाथि थ्रेट दिन खोज्दैछ,’ त्यो रोक्नुपर्ने विषयमा सबै कन्भिन्स भइयो।’

संसदको अंकगणित हेर्दा कांग्रेसबाहेक अन्य दलहरु एमालेसँग मिलेर पनि सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।

यस्तै, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कांग्रेस र मधेशकेन्द्रित दुई वटा दल मिलेर पनि सरकार बनाउन सक्छन्।

एमाले र कांग्रेस मिले भने झन् दुई तिहाइ नै पुग्ने देखिन्छ।

तर, भएको गठबन्धन तोड्दा झनै अस्थिरता हुने खतरा छ। यही बुझेर गठबन्धनका दलहरु एकै ठाउँमा रहेको सन्देश दिन पहिलो बैठकबाटै संयुक्त विज्ञप्ति जारी गरिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

‘यहीँ गठबन्धन पछिसम्म जान्छ,’ पौडेलले भनिन्, ‘अन्य विकल्प खोज्ने कुरै छैन।’

उनले गठबन्धनमा एकमत भएकोले यसैले सरकार बनाउने बताइन्।

‘गठबन्धनमा एकरुपता छ, यसकै सरकार बन्छ,’ पौडेलले थपिन्, ‘पावर सेयरिङ गरेर गठबन्धन एकमत र प्रष्टसँग अगाडि बढ्छ।’

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पनि गठबन्धनभित्रै बहुमत पुगिसकेकोले यसैले सरकार बनाउने दाबी गरे।

‘गठबन्धनभित्र बहुमत पुगिसक्यो, यसैले सरकार बनाउँछ र अघि बढ्छ,’ उनले नेपालखबरसँग भने। 

तर, सरकार गठन र प्रधानमन्त्रीको विषयमा गठबन्धनले अहिलेसम्म छलफल नै अगाडि बढाएको छैन। 

माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेसको दलको नेता चयनअघि त्यो विषयमा गम्भीर छलफल नहुने बताए। 

‘शपथग्रहण र संसदीय दलको बैठक तथा दल नेता चयन भएपछि सरकार निर्माणबारे छलफल सुरु गर्ने कुरा छ,’ गुरुङले नेपालखबरसँग भने, ‘अहिले गठबन्धनमा तत्कालको राजनीतिक मुद्दा हेर्ने कुरामा एकरुपता छ।’

गठबन्धन छोड्न माओवादीभित्र दबाब छ। कांग्रेसभित्रै पनि माओवादी, एकीकृत समाजवादी जस्ता दललाई लिएर हिँड्न नहुने केही नेताहरुको धारणा सार्वजनिक भइरहेका छन्। 

महासचिव गुरुङ भने मुद्दाका विषयमा अन्तर रहे पनि विवाद नभएको दाबी गर्दै कार्यनीतिक मात्र गठबन्धन भएको बताउँछन्। 

‘गठबन्धन टुट्ने तहको विवाद छैन,’ उनले थपे, ‘कार्यनीतिक सहकार्य भएकोले रणनीतिक एकता हुने कुरै भएन।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन सरकारको पहिलो प्रधानमन्त्री बन्न चाहन्छन्। 

कांग्रेस पनि सरकार बनाउन निर्णायक रहेको माओवादी, एकीकृत समाजवादी जस्ता कम्युनिस्ट पार्टीलाई साथमा लिएर सरकारको नेतृत्व लिने दाउमा छ। 

चुनावको नतिजा सन्तोषजनक नभएकोले कांग्रेस  गठबन्धनको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रको शनिबार (१७ मंसिर) मा बसेको पदाधिकारी बैठकको निष्कर्ष थियो।

कांग्रेस लगायत दलसँग अहिले भइरहेको सहकार्यमा कुनै राजनीतिक विषयमा गम्भीर विवाद नभएकोले सिट संख्या हेरेर मात्र गठबन्धन अदलबदल नगर्ने महासचिव गुरुङले बताए।

‘राजनीतिक रुपले ४ दलीय मोर्चाभन्दा प्रगतिशील र अग्रगामी धार विकास नहुँदासम्म प्रतिगमनको खतरा रहेकोले अहिलेकै यथास्थितिलाई रक्षा गर्न लागिएको हो,’ गुरुङले भने। 

सोमबार एकैदिन कांग्रेसका नेताहरु ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमै पुगेर भेटी मिलेर जाने प्रतिवद्धता जनाएका छन्।

एमालेले अहिलेको व्यवस्था जोगाउने प्रतिवद्धता नजनाएको, कम्युनिस्टबीच विशेष परिस्थिति निर्माण नभएकोले यही गठबन्धनलाई निरन्तरता दिन तयार भएको अर्का एक नेताले बताए।

‘कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग बहुमत छ, उनी दलको नेता बन्छन्, अहिले उनले भनेकै निर्णय लागू हुने भएकोले यही गठबन्धनको निरन्तरताको पक्षमा उभिएको हो,’ एक नेताले नेपालखबरसँग भने, ‘अहिले तत्काल नयाँ विकल्प बन्ने सम्भावना निकै कम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .