ad ad

राजनीति


पौडेल समूहको भेलामा सिटौला पहिलोपटक सहभागी, पाँच–बुँदे बटमलाइन

पौडेल समूहको भेलामा सिटौला पहिलोपटक सहभागी, पाँच–बुँदे बटमलाइन

सागर न्यौपाने
पुस २, २०७६ बुधबार १४:३९,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कार्यसमिति बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवासँग ५ बुँदे मागलाई न्यूनतम अडानका रुपमा लिने निर्णय गरेको छ।
पौडेलले बुधबार ४ घण्टा आफ्नै निवास बोहोराटारमा अन्य नेताहरुसँग छलफल गरेपछि सो मागलाई अन्तिम रुप दिएका हुन्।

पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने मुख्य मागसहित मंसिर २६ गतेदेखिको कार्यसमिति बैठक बहिस्कार गर्दे आएको छ।

पाँच–बुँदे मागमा १३औं महाधिवेशनका बेला नरहरि आचार्यले बुझाएको क्रियाशील सदस्यताको अन्तिम सूचि सार्वजनिक गर्नुपर्ने, पार्टीका विभागहरुको संख्या २८ बाट बढाउन नहुने, नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व पाउनुपर्ने र क्रियाशील सदस्यता छानवीन समिति गठन गर्नुपर्ने माग अघि सारेको हो।

सभापति देउवा समूहले मागमै आधारित भएर वार्तामा प्रस्तुत भएपछि पौडेल समूहले पनि आफ्ना ‘मागको बटमलाईन’ बनाएको केन्द्रीय सदस्य कमला पन्तले जानकारी दिइन ।
सभापति देउवाले बहुमतकै लागि विभाग र भ्रातृसंस्थाको नियुक्ति गर्न खोजेको कुरा रोक्नको लागि आफूहरुले पनि ‘बटमलाईन’ तय गरेको पन्तले दाबी गरिन्।

सभापति देउवाले फेरि सहमतिका लागि भन्दै बुधबारको बैठक स्थगित गराएर अर्काे बैठक शुक्रबार डाकेका छन् ।

पौडेलको नयाँ मागपछि कांग्रेसभित्रको आन्तरिक राजनीति थप पेचिलो बनेको देउवा समूहका एक नेताले प्रतिक्रिया दिए। तर पौडेल पक्षकी केन्द्रीय सदस्य पन्तले सभापति देउवा सहमतिको लागि तयार नभएको आरोप लगाइन्। ‘उहाँहरु सहमति गर्न भनेर बस्नुहुन्छ तर, आफ्नै प्रस्तावमा अडिग रहनुहुन्छ अनि कहाँबाट बन्छ सहमति?’ पन्तले प्रश्न गरिन ।

सिटौला पहिलोपटक पौडेलको भेलामा सहभागी

पौडेल समूहलाई समर्थन गर्दै आएका कृष्ण सिटौला बुधबार पहिलोपटक सो समूहको भेलामैं सहभागी भएका छन्। पौडेल समूहका एक केन्द्रीय सदस्यका अनुसार, सिटौला बोहराटारको भेलामा सहभागी रहेर देउवासँग निर्णायक वार्ता गर्न अघि सारिएको पाँच बुँदे मागमा सहमत भएका छन्।

मंगलबार सभापति शेरबहादुर देउवासँग पौडेल समूहलाई आफूले मनाउने र यदि उनीहरु नआए आफू भने कार्यसमिति बैठकमा सहभागी हुने सन्देश पठाएका सिटौला बुधबार भने पौडेल समूहको भेलामा सहभागी भएका हुन्।

बोहराटारमा भएको भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, कमला पन्त, दीपक गिरी, नवीन्द्रराज जोशी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ लगायतका २५ जना नेताहरु सहभागी भएका थिए।

सभापति देउवा र पौडेलबीच कुरा नमिल्दा कांग्रेस कार्यसमिति बैठक बस्नै सकेको छैन ।

पौडेल समूहले बहिस्कार गरेपछि मंसिरको २७ गतेदेखि देउवा समूहले वार्ता र छलफल गर्दै आएपनि नयाँ नयाँ माग अघि सारेका कारण समस्या भएको देउवा समूहका नेता रमेश रिजालले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .