राजनीति


अमेरिकी दबाबमा उत्तर कोरियाली लगानी फिर्ता गरिनु गलतः मसाल

अमेरिकी दबाबमा उत्तर कोरियाली लगानी फिर्ता गरिनु गलतः मसाल

नेपालखबर
पुस १, २०७६ मंगलबार १२:५६,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नसकेको भन्दै आलोचना गरेको छ। हालै अमेरिकाको दबाबमा नेपालबाट उत्तर कोरियाली नागरिक निस्काशित गरिएको र लगानी फिर्ता गरिएको भन्दै मसालले आपत्ति जनाएको हो।

महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकाशित गरी अमेरिकापरस्त नीति अपनाएको भन्दै सरकारको कडा शब्दमा निन्दा गरेका छन्। अमेरिकाको दवावमा नेपाल सरकारले साम्राज्यवादपरस्त नीति अपनाएको भन्दै महामन्त्री सिंहले एक पटक कुनै देशका अगाडि घुँडा टेक्ने नीति अपनायो भने त्यस प्रकारको नीतिको पुनरावृत्ति हुँदै जाने खतरा औँल्याएका छन्।

‘नेपाल एउटा स्वतन्त्र देश हो र त्यसले अन्य कुनै देशको दवावमा नआइकन स्वतन्त्र प्रकारले नै आफ्नो परराष्ट्रनीति निर्धारित गर्नुपर्ने आवश्यकता छ। तर, अहिले उत्तर कोरियाबारे सरकारले अपनाएको नीतिबाट त्यसले (नेपाल सरकारले) अमेरिकापरस्त नीति अपनाएको कुरामा कुनै शंका रहन्न’ सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सरकारले एकपल्ट कुनै देशका अगाडि घुडा टेक्ने नीति अपनायो भने त्यो सिलसिला त्यहीसम्म मात्र सीमित रहने छैन र एक वा अर्को रूपमा त्यस प्रकारको नीतिको पुनरावृत्ति हुँदै जानेछ।’

अमेरिकाले साउथ एसिया रणनीतिअन्तर्गत सम्पूर्ण दक्षिण पूर्व र दक्षिण एसियामा आफ्नो प्रभूत्व कायम गर्ने ग्राइन्डडिजाइनअनुसार काम गरिरहेको मसालले जनाएको छ। ‘त्यही रणनीतिअन्तर्गत नै त्यसले नेपाललाई एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) मान्नका लागि दवाव दिइरहेको छ। वास्तवमा त्यो नीति पनि साउथ एसिया रणनीतिको नै एउटा अङ्ग हो। सरकारले अब त्यो नीतिलाई पनि संसदद्वारा पारित गराउन प्रयत्न गरेको देखिन्छ। वास्तवमा त्यो अमेरिकी साम्राज्यवादको रणनीतिका पक्षमा झुक्दै जाने नीति नै हुनेछ’ वक्तव्यमा भनिएको छ।

मसालले ‘अमेरिकी साम्राज्यवादप्रति नेपाल सरकारले अपनाउने सम्झौतापरस्तको नीति’ को कडा शब्दमा विरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad