नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फासीवादतिर लम्किरहेको आरोप लगाएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फासीबादतर्फ अघि बढेको जिकिर गरेका हुन्। हिटलरको शैलीमा सरकार हिँडेकाले यसको भविष्य समेत नभएको अध्यक्ष सापकोटाको भनाई थियो।
उनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको कारण नै नेपालमा राणा शासन, पञ्चायती शासन, ज्ञानेन्द्र शाहको शासन ढलेको र अब बालेन्द्र शाहको शासन पनि ढल्न सक्ने चेतावनी समेत दिए।
अध्यक्ष सापकोटाले भने,‘हामी यो सरकारको विरोध गर्न चाहँदैनौँ। तर लोकतन्त्रको आवाजहरूलाई दबाउने काम जुन ढंगले कुचेष्टा गरिएको छ। यसले बालेन नेतृत्वको सरकार फासीवादतिर लम्किरहेको छ। हिटलरको शैली कपि गरिएको छ। यसले सही ढंगले अघि लैजाँदैन। विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउँदा हिजो राणा पनि हटे, पञ्चायत पनि हटयो। त्यसपछि ज्ञानेन्द शाहको कू पनि हट्यो। उहाँले पनि हट्नुपर्ने अवस्था आउन सक्छ।’
अध्यक्ष सापकोटाले सरकारले विश्वविद्यालयहरुलाई विगतमा झै आफ्नो भर्ती केन्द्र बनाउने काम गरिरहेको दाबी समेत गरे।
Shares

प्रतिक्रिया