नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवराज गुरुङले गत भदौको जेनजी आन्दोलनपछि नेपालको संविधान ‘कोमा’ पुगेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले संविधान नाममा मात्रै सिमित भएको बतामए। ‘नेपालको संविधान, नेपालको डेमोक्रेसी त एक प्रकारले सिध्याइसकेको छ। जेनजी आन्दोलनदेखि संविधानलाई कोमामा पुर्याइसकेको छ,’ गुरुङले भने।
नेता गुरुङले बहुदलीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन शून्यप्राय अवस्थामा रहेको जिकिर गरेका छन्। ‘अहिले संविधान नाम मात्रको छ, कुनै पनि कार्यान्वयन भएको छैन। मल्टिपार्टी डेमोक्रेसी कुनै पनि कार्यान्वयन भएको छैन, नाम मात्रको रुपमा सीमित छ। एक प्रकारले डेमोक्रेसी समाप्त भइसकेको अवस्था छ,’ गुरुङले भने।
उनले संविधान र व्यवस्थाको रक्षाका लागि सबै गम्भीर हुन जरुरी रहेको बताए।
विश्वमा बढ्दो युद्ध र साम्राज्यवादी हस्तक्षेपविरुद्ध उत्पीडित राष्ट्रहरूबीच वृहत्तर सहकार्य आवश्यक रहेको बताए। नेपालसहित एशिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरू साम्राज्यवादबाट प्रभावित रहेको उनको भनाइ थियो।
शान्ति, स्थिरता र दीगो विकासका लागि आपसी समझदारी र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले विश्वका स्वतन्त्र राष्ट्रहरूले आ-आफ्नो संविधान, कानुन, अर्थतन्त्र र मूल्य-मान्यताअनुसार शान्ति र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
Shares

प्रतिक्रिया