मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा गरिने जरिवानाका विषय अहिले प्रस्तावका रुपमा मात्रै रहेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।
बिहीबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले यसबारे जिज्ञासा राखेका थिए। सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा मन्त्री पोखरेलले अहिले प्रस्तावका रुपमा मात्रै रहेको बताएका हुन्।
सरकारले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा कडाइ गर्ने नीति अघि सारेको छ। त्यसका लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गर्न खोजेको छ।
ऐन संशोधन गर्न बनाइएको मस्यौदामा रगतमा अल्कोहलको मात्रा तोकिएको सीमाभन्दा बढी भएमा जरिवाना गर्ने व्यवस्था गर्न लागिएको छ। जसमा दुईपांग्रे चालकलाई २५ हजार, साना सवारीलाई ३५ हजार र मझौला तथा ठूला सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसलाई लिएर सञ्चारकर्मीले सरकारका प्रवक्ता पोखरेललाई प्रश्न गरेका थिए। सञ्चारकर्मीको प्रश्न थियो– रक्सी खानेलाई ५० हजार जरिवाना, अनि गाँजा खानेलाई कति जरिवाना राख्नुहुन्छ?
यसको उत्तर दिने क्रममा सरकारका प्रवक्ता पोखरेल हाँसे। केहीबेर अड्किएर पोखरेलले भने, ‘त्यो, त्यो अहिले सबै प्रस्तावित मात्रै हो। सम्बन्धित मन्त्रालयले त्यसको बारेमा स्पष्ट बनाइसक्नु भएको छ।’
सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गर्न बनेको मस्यौदामा चालकको रगतमा अल्कोहलको मात्रा ०.०५ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भएमा मापसे गरेको मानिने उल्लेख छ। त्यस्तै, ३० वर्षभन्दा कम उमेरका वा परीक्षणकालमा रहेका चालकका लागि यो सीमा ०.०२ ग्राम प्रतिडेसिलिटर तोकिएको छ।
Shares

प्रतिक्रिया