नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले सांसदहरुको हैसियत माग्ने जस्तै भएको बताएका छन्।
प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका प्रदेश १ का पूर्वमुख्यमन्त्री राईले चुनावी अभियानका क्रममा मंगलबार भोजपुरको बोयामा यस्तो बताएका हुन्।
उनले आफूले चुनाव जितिसकेपछि माननीय मात्रै नभएर मन्त्री हुने पनि दाबी गरे।
'माननीय मात्रै भएर मैले भोजपु्रलाई केही दिलाउन सकिनँ। माननीय मात्रै हुँदा एउटा झोलुङ्गे पुल त माग्दा माग्दा हैरान भएँ। बल्ल बल्ल पिखुवा खोलामा हाल्न सकेँ, असाध्य मुस्किलले', उनले भने, 'माननीय मात्रैको हैसियतामा जनतालाई केही दिन सकिँदैन। माननीयको हैसियत मन्त्रीकहाँ ढोग्ने हो, माग्ने हो, दियो भने जनालाई ल्याएँ है भन्ने हो।'
उनले सांसदहरु संसद बैठकमा छिरेर सुत्ने गरेको बताए । 'जब संसदको बैठकमा गइन्छ नि, हाजिरी गर्ने, भत्ता पचाउने, एक मिनेट, तीन मिनेट शून्य र विशेष समय हुन्छ, त्यसमा बोल्ने हो', उनले थपे, 'नेपाल टेलिभिजनमा देखिएको हुन्छ नि संसदमा उँघ्ने हो, बस्ने हो।'
उनले आफूसँग प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदन किरातीलाई पनि कटाक्ष गरे। 'सुदन किराती दुई पटक माननीय भए। दश वर्षमा के दिए जिल्लालाई?', उनले भने, 'घुम्ने डुल्ने, ढुंगा उचाल्ने, बोरा उचालेको फोट खिचेर फेसबुकमा हाल्ने, स्कुल र घरको फोटो खिचेर हाल्नेबाहेकको के पाए यहाँका जनताले?'
उनले सुदनले दुई पटक जित्दा पनि केही गर्न नसकेको दोहोर्याए। 'उहाँले अघिल्लो पटक जितेर के दिनुभयो? कम्तीमा एक दुई बाटो पनि बनाइदिनु भनेको केही दिएनन्', उनले भने, 'सांसद मात्रैको हैसियतले केही दिन सकिँदैन। भोजपुरलाई एक थान माननीय चाहिएको होइन। गतिलो हैसियत भएको नेता चाहिएको हो। प्रदेशमा पनि हैसियतसहितको नेता चाहिएको हो।'
उनले एमालेले नै देशको नेतृत्व गर्न सक्ने बताए। 'हामीले नै हो देशको नेतृत्व गर्ने हो। अहिले माननीय बन्न मात्रै म यहाँ आएको होइन', उनले भने, 'एमाले भनेको देशको लोकप्रिय पार्टी हो जनताको मन जितेको पार्टी हो।
क्षमता भएको योग्यता भएको केपी शर्मा ओली जस्तो नेता भएको पार्टी एमाले हो।'
उनले अरु जस्तो एमाले ८/१० सिट जितेर च्याँखे दाउ थाप्ने पार्टी नभएको बताए। '८/१० वटा सिट जितेर च्याँखे दाउ थाप्ने पार्टी होइन एमाले', उनले भने, 'महत्वपूर्ण जिम्मेवारी लिएर जाने पार्टी हो एमाले।'
उनले आफूसँगै हरिबहादुर राईको उम्मेदवारी पनि माननीयका लागि मात्रै नभइ मन्त्री हुने गरी भएको बताए।
'प्रदेशमा हामीले सरकार बनाउँदा त्यहाँको मन्त्री हुने हैसियत छ उहाँमा', उनले भने, 'माथि पनि तल पनि पार्टीले सरकार बनाएको बेलामा जिम्मेवारी हामीले पाउन सक्छौँ।'
Shares

प्रतिक्रिया