ad ad

राजनीति


बालकोट–बालुवाटार कनेक्सन : चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता

बालकोट–बालुवाटार कनेक्सन : चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता

केपी ओलीसँग फोटो खिचाउँदै मीना राणा।


नेपालखबर
असोज ५, २०७९ बुधबार १५:३६, काठमाडौँ

घटना एक : गत बैशाख ९ गते लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर एउटा जोडी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुग्यो। जोडीले ओलीसँग फोटो खिचायो।

लगत्तै मिडियामा समाचार आउन थाल्यो– समाजसेवी एवं व्यवसायी मीना राणा र उनका श्रीमान एमालेमा प्रवेश, केपी ओलीले गरे स्वागत। (हेर्नुहोस् माथिको तस्बिर)

घटना दुई : असोज २ गते बालुवाटारस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सरकारी निवासको गेट नजिकै एक युवती पदार्पण भइन्।

सेतो मास्कले करिब आधा अनुहार छोपेकी उनले आफू चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधि राणा भएको दाबी गरिन् र आफ्नो बुबालाई नजरबन्दमा राखिएको भन्दै बेदना सुनाइन्। मिडिया नराम्ररी झुक्किए। (हेर्नुहोस् तलको तस्बिर)

भोलिपल्ट थाहा भयो, मिडियालाई गुमराहमा पार्ने उनी चोलेन्द्र छोरी नभएर नक्कली रहिछन्। उनी दैलेखकी मीना जोशी रहिछन्, जसले काठमाडौंका एकजना राणा थरका युवासँग बिहे गरेपछि बल्ल जबरा परिवारकी बुहारी बन्न पुगेकी रहिछन्।

स्रोतका अनुसार बालकोटमा पुगेर केपी ओलीसँग फोटो खिचाई एमालेमा प्रवेश गर्ने उनै मीना राणा असोज २ गते बालुवाटारमा चोलेन्द्रकी नक्कली छोरी बनेको राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले पत्ता लगाएका छन्।

नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रममा मीनाले यसो भनेकी थिइन्–
आदरणीय अध्यक्ष श्री केपी शर्मा ओलीज्यू एवम् अग्रज नेताज्यूहरु, सबैमा मेरो नमस्कारको अभिवादन छ।

सर्वप्रथम म नेकपा (एमाले) मा प्रवेश गर्न पाउँदा आफूलाई निकै खुशी र भाग्यमानी ठानेको छु । मुलुककै ठूलो दल हुनुको नाताले पनि एमाले जनताको पार्टी हो भन्ने कुरा स्पष्ट नै छ । र, यो पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । एमालेको नेतृत्व पंक्ति खासगरी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समृद्ध नेपालको भिजनबाट म निकै प्रभावित थिएँ। उहाँले सरकारको नेतृत्व गर्दा देशव्यापी रुपमा विकास निर्माणका काम अघि बढेको कुरा जगजाहेर नै छ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली अभियान नाराको लागिमात्रै अघि सार्नुभएको नभई वास्तवमै यसलाई व्यवहारमा नै उतार्नुभएको छ। उहाँको व्यक्तित्व र सरल स्वभावबाट आम नेपाली जनता प्रभावित छन्। उहाँले देशलाई कसैसँग झुक्न दिनुभएन। सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुभएको थियो।

मुलुक निर्वाचनमा होमिएको छ। एमालेप्रति जनताको ठूलो लहर देखिएको छ। यसले पनि एमालेको आगामी तीनै तहको निर्वाचनमा बहुमत हासिल गर्नबाट कसैले रोक्न नसक्ने स्पष्ट पारिसकेको छ।

अहिले युवादेखि बृद्धासम्मको नै एमाले भरोसायोग्य पार्टी बनेको छ। म आज अध्यक्ष ओलीज्यूको आर्शिवाद लिएर एमालेमा प्रवेश गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु। मेरो बाँकी जीवन एमालेमा रहेर इमानदारपूर्वक देश र जनताको सेवामा व्यतित गर्ने पनि घोषणा गर्दछु।

मैले आज आफू यो पार्टीको एक सच्चा कार्यकर्ता हुन पाउँदा गौरवको अनुभुति गरेको छु। पार्टीले दिने जुनसुकै भूमिका मेरो लागि स्वीकार्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .