राजनीति


प्रकाशमानलाई रवीन्द्रका १५ प्रश्न– संसदमा उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

प्रकाशमानलाई रवीन्द्रका १५ प्रश्न– संसदमा उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

नेपालखबर
भदौ २६, २०७९ आइतबार १५:४८, काठमाडौँ

आफूलाई व्यंग्य गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रले जवाफ फर्काएका छन्। 

शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको भन्दै मिश्रविरुद्ध टिप्पणी गरेका थिए। 

त्यसप्रति प्रतिक्रिया दिँदै आइतबार मिश्रले नेता सिंहलाई १५ वटा प्रश्न तेर्स्याएका हुन्। 

नेता सिंहको नामै नलिई उनले भनेका छन्, ‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एक जना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो।’

यी हुन् मिश्रले नेता सिंहलाई सोधेका १५ प्रश्न 

  • पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?
  • संसद भनेको देशको नीति(नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयोरु बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो?
  • तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी सहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धूलोधूवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयोरु फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो!
  • काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि?
  • बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनुपर्छ। नदिनाला सफाइका लागि केही काम गर्नुभयो?
  • त्यो सांसद विकास कोष भन्ने छ नि? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएन? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नुपर्थ्यो नि, हगि?
  • तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो?
  • इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि?
  • साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो?
  • द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नुभएन। त्यो त गम्भीर विषय हो नि। अलि चासो दिनु पर्थेन?
  • हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या?
  • तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो?
  • अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन?
  • झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न, कृपया।
  • तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।

मिश्रले सिंहलाई आफ्नै नेताको आत्मा मारिदिएको आरोप लगाएका छन्। 

उनले सोधेका छन्, ‘ १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनुभयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?’

यो पनि - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad