ad ad

राजनीति


‘लौरो’का अध्यक्ष भन्छन् - कसैका श्रीमती र गर्ल फ्रेन्डलाई समानुपातिक सूचीमा राखिन्न (भिडिओ)

‘हाम्रो पार्टी कागजी हो, यसमा कुनै संरचना छैन’
‘लौरो’का अध्यक्ष भन्छन् - कसैका श्रीमती र गर्ल फ्रेन्डलाई समानुपातिक सूचीमा राखिन्न (भिडिओ)

तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २२, २०७९ बुधबार १६:४२, काठमाडौँ

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ‘लौरो’ चुनाव चिन्हको अत्यधिक चर्चा भयो। 

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र धरानका हर्क साम्पाङले यही चिन्हबाट निर्वाचन जिते। 

देशभरका स्थानीय तहका जनप्रतिनिधिको खासै चर्चा नहुँदा यी दुई स्वतन्त्र उम्मेदवारका हरेक गतिविधि जनमानसको केन्द्रमा परेको छ। 

निर्वाचन आयोगले निर्वाचनको १० दिनअघिमात्र दिएको चुनाव चिन्हमा थोरै प्रचारले धेरै मत बटुल्न सफल भएको विश्लेषण उनीहरुको छ। सँगसँगै, आम निर्वाचन नजिकिँदै जाँदा ‘लौरो’ चिन्ह पुनः चर्चामा आउन थालेको छ। 

गत १६ भदौमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सुमन सायमीको संयोजकत्वमा ‘वैकल्पिक तथा स्वतन्त्र शक्तिहरूको लौरो अभियान’ समेत घोषणा भइसकेको छ। तर, निर्वाचन आयोगले भने यो चिन्ह हाम्रो नेपाली पार्टीलाई दिएको छ। 

देशभर स्वतन्त्रको माहोल बढिरहँदा यो चिन्ह दर्ता गराएका अनन्तराज घिमिरेसँग हामीले संक्षिप्त संवाद गरेका छौंः

निर्वाचन आयोगमा तपाईंको नाममा दर्ता भएको पार्टीको चुनाव चिन्ह ‘लौरो’ छ। तर, यही चिन्ह लिएर धेरैले स्वतन्त्र उम्मेदवारी घोषणा पनि गरेका छन्। खास के हो तादम्यता? 
हामीले सबै स्वतन्त्रहरु र इन्जिनियरको टिम मिलेर सल्लाह गरेर लौरो चुनाव चिन्हको एउटा पार्टी संविधान अनुसार निर्वाचन आयोगमा दर्ता गरेका हौं। स्थानीय निकायजस्तो एउटा मात्र स्वतन्त्र लडेर हुँदैन् भनेर दर्ता गरेका हौं। पहिलो कुरा सरकार निर्माणमा एकजनाले मात्र हुँदैन भन्ने हो। दोस्रो कुरा समानुपातिक भोटको संरक्षण गर्नुपर्ने भएकाले हामीले निर्वाचन आयोगमा लौरो चुनाव चिन्ह दर्ता गरेका छौं। कागजी रुपमा पार्टी भएपनि त्यसको कुनै संरचना छैन। 

निर्वाचन आयोगमा दल दर्ता भइसकेपछि त स्वतन्त्र भएर चुनावमा भाग लिन त छेक्यो नि? 
होइन, त्यसरी छेक्दैन। हृदयश त्रिपाठी पनि सूर्य चिन्ह लिएर स्वतन्त्र उठन्भुयो र पछि पार्टी गठन गर्नुभयो। यो कागजी पार्टीले कुनै ह्वीप दर्ता गर्दैन्। यो चुनाव पछि यो पार्टी देश विकास गर्ने शक्तिको रुपमा अघि आउँछ। 

स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिन्ह लिनेहरुको जनमत बलियो भएका कारणले यो चिन्ह रोज्नुभएको हो?
त्यो पनि अलिकति हो। पोखराको अटेरी अभियानले देशभरीका ४ सय बढी स्वतन्त्र उम्मेदवारलाई एउटा ग्रुपमा सामेल गर्‍यो। एउटा लौरो अभियान संचालन पनि भयो। जित्दा दुई ठाउँमा मात्र देखिएपनि मान्छेको जनमानसमा जसरी पुराना दलहरुको छाप छ, त्यसैगरी लौरोले पनि देशमा राम्रो गर्छ भन्ने छाप छ।

त्यसलाई हामीले सबै स्वतन्त्रलाई एउटा मालामा गाँसेर मंसिर ४ लाई देश परिवर्तनको दिन घोषणा गर्न लागेका हौं। यही चुनाव चिन्हबाट सबै स्वतन्त्रहरुलाई जोड्न सक्यौं भने हामी सफल हुन्छौं। राम्रो मान्छे भएपनि जनताले थाहा पाएन भने उसले हार्न सक्छ भनेर यस्तो गरेका हौं। 

राम्रो मान्छे उठ्यो भने थोरै दिनमै पनि जित्छ भन्ने उदाहरण त धरान र काठमाडौं छ। किन चुनाव चिन्हमै तपाईंहरुको ध्यान? 
सबै ठाउँ काठमाडौं होइनन्। सबै ठाउँ धरानजस्तो छैन। जो जो स्वतन्त्र उठ्छ त्यहाँ पहिल्यै मेरो चुनाव चिन्ह यो हो भन्यो भने चुनाव प्रचारमा सहज हुन्छ। थोरै दिनमा मान्छेको जनमानसमा नपर्न सक्छ भनेर हामीले यो चिन्हको प्रचार गरेका हौं। 

आयोगमा दर्ता भइसकेको छ। खास तपाईंको पार्टीको संगठनबारे के हो? 
अहिले हाम्रो पार्टी भनेको कागजी पार्टी हो। यसमा कुनै संरचना छैन। यहाँ एकजना अध्यक्ष र बाँकी २० जना केन्द्रीय सदस्य हुनुहुन्छ। यसको कुनै अन्य संरचना छैन। यो पार्टीको उद्देश्य भनेकै स्वतन्त्रहरुलाई संगठित गर्ने हो। चुनावपछि यो शक्ति निर्माणमा जान्छ। सबै शक्तिहरुलाई एक ठाउँमा जम्मा भएर मात्र नेतृत्व बन्छ। अहिलेका दलहरुजस्तो संरचना बन्दैन्। 

भिडिओ

समानुपातिक भोटका लागि देशैभर उम्मेदवार बनाउनुहुन्छ?
हामीले देशभर प्रत्यक्ष मात्र नभई समानुपातिकमा पनि सम्पूर्ण ठाउँमा हाम्रा उम्मेदवार हुनुहुन्छ। लौरो अभियानको साथीहरुले ठाउँ ठाउँबाट त्यसको सिफारिस गर्नुहुन्छ। कसैको श्रीमती वा गर्ल फ्रेन्ड हाम्रो समानुपातिकको सूचीमा हुँदैनन्। सक्षम मान्छे मात्र हुनुहुन्छ। 

जनताले स्वतन्त्र नै हो भनेर के आधारमा विश्वास गरेर भोट हाल्ने? 
अहिले विशेषगरी लौरो चुनाव चिन्ह लिएर उठेका बालेन्द्र शाह र हर्क साम्पाङको चर्चा भइरहेको छ। एउटा स्वतन्त्र व्यक्ति हुँदा कसैले अवरोध गर्न सकेको छैन। यदी पार्टीको थियो भने अवरोध हुन्थ्यो। त्यही खालको शक्ति निर्माण गर्नका लागि स्वतन्त्रहरु एकजुट भएर लाग्न आग्रह छ। 

यहाँहरुपनि दल बनिसकेपछि त ह्वीप लगाउने त हुन्छ होला नि? दल नै त हो?
हामी यो विकृत दलहरुसँग आजित छौं। त्यसकारण नै हामीले यो अभियान सुरु गरेका छौं। हामी सच्चिनुपर्छ। हामी सच्चिएका छौं। एकपटक अध्यक्ष भएपछि भइरहने, प्रधानमन्त्री भएपछि भइरहने जस्तो हुन भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .