राजनीति


वाम गठबन्धनको प्रक्रिया अघि बढ्यो : वामदेव गौतम

एमालेबाहेकको वाम एकताको तयारी
वाम गठबन्धनको प्रक्रिया अघि बढ्यो : वामदेव गौतम

नेपालखबर
साउन ४, २०७९ बुधबार १६:०, काठमाडौँ

नेकपा राष्ट्रिय एकता पार्टीका संयोजक वामदेव गौतमले नेपाली कांग्रेससँग भएको गठबन्धन विरुद्ध कम्युनिष्टहरुको बाम गठबन्धन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

नेता गौतमले वाम गठबन्धनका लागि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (बाबुराम भट्टराई पक्ष) बीच सकारात्मक छलफल भएको दाबी गरे।

नेपालखबरसँग संक्षिप्त कुरा गर्दै गौतमले पार्टी एकता नै गर्ने तयारी भइरहेको बताए।

मंगलबार माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भएको छलफलमा नेता गौतम पनि सहभागी थिए । 

नेकपाकालीन सचिवालयमा रहेका ५ नेताबीच सिंहदरबारमा २ घण्टा छलफल भएको थियो। त्यही छलफलले वाम एकतासम्म पुग्ने खाका बनाएको गौतमको दाबी छ।

‘नेपाली कांग्रेससँग गरिएको गठबन्धनविरुद्ध वामहरुको गठबन्धन गर्नेबारेमा सकारात्मक छलफल भयो,’ गौतमले नेपालखबरसँग भने, ‘छिट्टै निर्णय गरेर अगाडि बढ्नुपर्छ भन्ने समझदारी बनेको छ।’

गौतमका अनुसार मंगलबार नेकपाकालीन पाँच सचिवालय सदस्यबीचको छलफलको चाँजोपाँजो प्रचण्डले मिलाएका हुन्।

‘सबैको धारणा पार्टी एकता गरेर जानुपर्छ भन्नेमै छ, सुरुमा वाम एकता संयोजन समिति बनाएर अगाडि बढ्ने कुरामा हामी सहमति नजिक छौँ,’ गौतमले थपे।

वाम गठबन्धनमा नेकपा एमालेलाई सहभागी नगराउने विषयमा पनि पाँच नेताहरु सहमत भएको उनले बताए।

‘वाम–प्रजातान्त्रिक गठबन्धन टुट्नुपर्ने ओलीजीको अडान छ, त्यसलाई मान्ने कुरा भएन,’ गौतमले भने, ‘एमालेसहितको वाम एकता संयोजन समिति तत्काल बन्ने सम्भावना कम छ।’

पाँच नेताहरु फेरि छलफलमा जुट्ने र त्यसमा एकताको मोडालिटी वा मोर्चाको मोडालिटी दुवै विषयमा गम्भीर कुरा गर्ने उनले बताए।
माओवादी अध्यक्ष प्रचण्ड भारतको तीनदिने भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएपछि एमालेबाहेकको बाम गठबन्धन बनाउने प्रयास अघि बढ्न थालेको हो।

नेपाली कांग्रेसले प्रत्यक्ष तर्फका १ सय ६५ मध्ये सय सिटमा आफ्नो दाबी प्रस्तुत गरेपछि एमालेबाहेकका संसदीय अभ्यास गरिरहेका शक्तिहरु एकै ठाउँ उभिने प्रयासमा जुटेका हुन्। आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनअघि केही बाम पार्टीबीच एकता, तालमेल र मोर्चा बनाउने कसरत भइरहेको छ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको गठबन्धन कुनै सर्तमा पनि नटुट्ने प्रतिवद्धता जनाएका छन्।

मंगलबार (३ साउन) पाँच नेताहरुबीच छलफल गर्नुअघि प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सिंहदरबारमै एक घण्टा छलफल भएको थियो।

एक्लाएक्लैको सो छलफलमा पनि एकतामा आउन प्रचण्डले भट्टराईले सुझाव दिएका थिए। जवाफमा भट्टराईले पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव सारेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad