ad ad

लुम्बिनी


पोखरीमा हुत्याइएका ६० वर्षे वडाध्यक्ष भन्छन्– भिजेकै कपडामा घर गएँ, मोबाइल बिग्रियो

पोखरीमा हुत्याइएका ६० वर्षे वडाध्यक्ष भन्छन्– भिजेकै कपडामा घर गएँ, मोबाइल बिग्रियो

सुदीप भण्डारी
साउन ४, २०७९ बुधबार १५:५३, बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीचको विवादका कारण बजेट पारित गर्ने प्रक्रिया लम्बियो। गत असार १० गते उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन्। उक्त बजेट साउन ३ गते मात्र अनुमोदन भयो। यसबीच नगरसभा स्थगन, नाराबाजी, झडपदेखि अमानवीय क्रियाकलाप समेत भए। 

विषयगत समितिमा भागबन्डा नमिल्दा कांग्रेस र एमालेबीच विवादले नगरसभाको बैठक बस्न सकेन। असार ३१ गते बोलाइएको बैठक गणपूरक संख्या नपुगेको भन्दै तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले स्थगन गरे। त्यस्तै साउन १ गते बोलाएको बैठक पनि गणपूरक संख्या नपुगेको भन्दै स्थगन गरियो। 

एमालेका जनप्रतिनिधिहरूले आफूहरू बैठकमा उपस्थित भए पनि बैठक स्थगन गरिएको भन्दै आपत्ति जनाए। साउन १ गते बैठक स्थगन भएपछि एमालेका जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृतप्रति आक्रोशित भए। कांग्रेसका जनप्रतिनिधिसँग बसेको देखेपछि एमालेका जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीलाई बाहिर निस्कन नदिएर प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरी परिचालन भयो। प्रशासकीय अधिकृत ज्ञवालीलाई निकाल्ने क्रममा तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले धकेलेर पौडी पोखरीमा फालेको थियो। 

साउन २ गते कांग्रेस र एमालेको विवाद मिलेपछि ३ गते नगरसभाबाट बजेट अनुमोदन भइसकेको छ। तर वडाध्यक्ष क्षेत्रीलाई धकेलेर पोखरीमा फालेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ। इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले वडाध्यक्ष क्षेत्रीलाई पौडी पोखरीमा फालेका थिए। एमालेले डीएसपी केसीलाई कारबाही हुनुपर्ने माग समेत गरेको छ। 

यसै सन्दर्भमा हामीले पौडी पोखरीमा धकेलिएका तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीसँग कुराकानी गरेका छौं :

साउन १ गते कसरी विवाद सुरु भयो? 
त्यहाँ नगरसभा स्थगित भयो। प्रमुख प्रशासकीय अधिकृतले उपस्थितिको पूर्ण माइन्युटलाई अपूर्ण भनेर भन्नुभयो। त्यसकारण बैठक स्थगित भएको थियो। योसँगै दुईपटक बैठक यसरी नै स्थगित भएको थियो। नगरसभा स्थगित भइसकेकपछि हामी निस्कने क्रममा अर्को हलमा बसेर प्रमुख प्रशासकीय अधिकृतले छुट्टै माइन्युट लेख्न लाउनुभएको रहेछ। त्यहाँबाट विवाद सुरु भयो। हामीले प्रशासकीय अधिकृतजस्तो मान्छे एउटा दलका जनप्रतिनिधिसँग छुट्टै बस्न हुन्न, यहाँ मेयरसँग बसेर माइन्युट बनाउन लाग्यौं भनेर गुनासो गर्यो र विरोध गरेका थियौं। 

तपाईंहरूले जबर्जस्ती गरेर हो कि अथवा के कारण प्रहरी आइपुग्यो? 
हामीले नाराबाजी गरेको हो। माइन्युटमा हाम्रो उपस्थिति हुनुपर्छ भन्ने माग हो। हामीले कसैलाई लछारपछार गरेको होइन, आक्रमण गरेको होइन। नारा लगाउँदा लगाउँदै प्रहरी आएर हामीमाथि जाइलागे। 

प्रहरीले समात्दा तपाईं के गर्दै हुनुहुन्थ्यो? कसरी पोखरीसम्म ल्याइयो? 
म गेटमा थिएँ। गेटमा भएको मान्छेलाई भित्र लगेर फालिएको हो। नगरसभा भित्र के के भयो? गर्न हुन्थ्यो हुन्थेन, म यो कुरामा जान चाहन्नँ। डीएसपी सापले मलाई पक्रेर फाल्ने काम किन गर्नुभयो? मैले केही गरेको भए समातेर राखिराखेको भए हुन्थ्यो। आखिर मैले कसैलाई कुटपिट  र आक्रमण गरेको थिइनँ। गेटमा प्रशासकीय अधिृकतलाई रोक्ने कोसिस मात्र गरेको हो। मलाई समातेर केही बेर कुहिना र लात्तीले हान्ने काम भयो। त्यसपछि पोखरीमा लगेर फाल्नुभयो।  हामी नगरसभामा बोल्नै नपाउने, विरोध गर्नै नपाउने हो र? 

पोखरीमा भिजेपछि कतिखेर कपडा फेर्नुभयो? 
पोखरीबाट निस्केर भिजेकै कपडासहित घर गएँ। घर गएर कपडा फेरेँ अनि आराम गरेँ। पानीमा परेर मोबाइल पनि बिग्रेको थियो। मर्मत गरेपछि मात्र चल्यो। 

तपाईं अलि बिरामी पनि हुनुहुन्थ्यो रे, पोखरीमा फालेपछि केही स्वास्थ्य समस्या देखियो? 
२०७४ सालको स्थानीय चुनावको केही दिनअघि गंगालाल अस्पतालमा मेरो मुटुको अपरेसन गरिएको हो। म फलोअपका लागि गंगालाल अस्पताल गइरहन्छु। यहीँको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको मेडिकल कलेजमा पनि बेलाबेला पुग्छु। पौडी पोखरीमा धकेलिएपछि चिसोले हो कि केले हो, छाती दुख्यो, श्वासप्रश्वासको समस्या देखियो। भोलिपल्ट सोमबार क्रिमसन अस्पतालमा गएर जाँच गरेँ। प्रेसर बढेको रहेछ। एउटा इन्जेक्सन लगाएर केही बेर अस्पतालमा बसेर घर आएँ। अहिले त्यस्तो समस्या देखिएको छैन। 

तपाईं एउटा जनप्रतिनिधि हुनुहुन्छ, प्रहरी–प्रशासनबाट बेलाबेला ज्यादती हुन्छ, यसले प्रहरी–प्रशासनको साखमा कस्तो प्रभाव पर्ला? 
जनताको सुरक्षामा खटिएको प्रहरीले सुरक्षाका लागि बेलाबेला बल प्रयोग गर्छ, त्यो स्वाभाविक हो। म आफू जनप्रतिनिधि हो, त्यहाँ उपध्रो के गरेको थिएँ र? कसैलाई हातपात पनि गरेको थिइनँ। एउटा सिपाहीले लाठी हानेको भए पनि मैले खासै अपमान र असहज मसहसु गर्थिनँ होला। तर डीएसपी जस्तो मान्छेले नगरसभाका जिम्मेवार जनप्रतिनिधिमाथि यो खालको दुर्व्यवहार गरे। नगरसभामा दादागिरि र गुण्डागर्दी गर्ने मान्छे त थिएनन् नि! हामी कार्यपालिका सदस्य र नगरसभा सदस्य थियौं। यतिका धेरै प्रहरी परिचालित भएर यसरी बल प्रयोग गर्नै पर्दैन थियो। सामान्य नगरप्रहरीले मिलाउने ठाउँमा डीएसपी, एसपीसम्म खटाएर त्यस्तो व्यवहार गर्नु कत्तिको जायज हो? एउटा जनप्रतिनिधि हुँ, मेरो पनि इज्जत हुन्छ होला। मेरो छविमाथि नराम्रो प्रहार भयो नि!  

तपाईंलाई दुर्व्यवहार गर्ने प्रहरीलाई कस्तो कारबाही हुनुपर्छ? 
यहाँनेर दुव्र्यवहार भएकै छ। दुव्र्यवहार भोग्नेले न्याय पाउनुपर्यो, दोषीलाई त कारबाही हुनुपर्यो। यो प्रहरीको पनि छविको कुरा हो। यस्तै गर्ने हो भने प्रहरीप्रति जनताको विश्वास के होला! हामीलाई जनताले चुनेर पठाएका हुन्। २४ घण्टा काम गर्न तयार छौं। हामी सिधासादा लाहुरे परिवार हो। भारतीय सेनामा २४ वर्ष काम गरेर रिटायर्ड भएको हुँ। अहिले ६० वर्षको भएँ। ५ वर्ष जनताको सेवा गर्न खोजेको हो। जनताले चुनेर पठाएका छन्। जनताको आशीर्वाद  पाएर नै जनप्रतिनिधिबाट रिटायर्ड भइयोस् भन्ने हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .