ad ad

राजनीति


सत्तामा बस्नेको नालायकीले सीमा मिचियोः केसी

सत्तामा बस्नेको नालायकीले सीमा मिचियोः केसी

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १४:१३,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली शासकहरुको नालायकीपनका कारण कालापानीमा भारतीय सेनाले कब्जा गरेको बताएका छन्।

मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले भारतीय सेना बहादुर नभई नेपालीकै कमजोरीका कारण कालापानीमा सेना आएर कब्जा गरेको बताए।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको एक हप्ता लामो ‘कालापानी अभियान’लाई समापन गर्दै अध्यक्ष केसीले चीनसँग लड्न नसकेर ‘बहादुरीका साथ पछाडी हटेको’ भारतीय सेना कालापनीमा आएर कब्जा जमाएको बताए। उनले भने, ‘भारतीय सेना बहादुर हन्थ्यो भने चीनकै भूमि कब्जा गर्थ्यो। नेपाली शासककै नालायकीले गर्दा कालापानीमा डेरा जमायो।’

केसीले नेपालका सत्ताधारीहरु जहिल्यै सत्तामा कसरी पुग्ने भन्ने चिन्ताका कारण भारतीय सेनालाई हटाउन तर्फ ध्यान दिन नसकेको आरोप लगाए। उनले भारतले मिचेको नेपालको भूभाग संसारका ४५ वटा साना मुलुक जति रहेको बताउँदै अब एक इञ्च जमिन पनि कब्जा गर्न नदिन बताए। त्यसका लागि जनस्तरबाट खबरदारी र सरकारको पहलकदमी आवश्यक रहेको केसीको भनाई थियो।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ११ गते धनगढीबाट सुरु भएको ‘कालापानी अभियान’ मंगलबार महेन्द्रनगरमा समापन भएको हो। कार्यक्रमलाई राजमोका केन्द्रीय सदस्यहरु मनोज भट्ट, नन्दराज भट्ट, लोकेन्द्र लम्साललगायत नेताहरुले सम्बोधन गरेका थिए। समापन अघि महेन्द्रनगरमा विरोध यालीको आयोजना गरिएको थियो।

समापन समारोहमा सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। अभियान अन्तर्गत माेटरसाइकल र्‍यालीले कैलाली डडेल्धुरा बैतडी दार्चुला र डाेटी हुँदै कञ्चनपुरका विभिन्न क्षेत्र परिक्रमा गरी विराेध सभाहरु गरिएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .