ad ad

कारोबार


एयर इण्डियाले टिक्नै दिएन बुद्ध एयरलाई कोलकत्ता उडानमा

एयर इण्डियाले टिक्नै दिएन बुद्ध एयरलाई कोलकत्ता उडानमा

बसन्त अर्याल
मंसिर १७, २०७६ मंगलबार १४:४२,

बुद्ध एयरले गत जेठमा एउटा महत्वाकांक्षी योजनासहित भारतको कोलकत्ता उडान सुरु गरेको थियो। उसले भारतको पुरानो शहर कोलकत्ता जोड्ने उडानलाई व्यापारिकरुपमा स्थापित गर्नसके त्यतिमा मात्र सीमित नहुने र त्यसपछि चेन्नई, हैदरावाद, बैंग्लौरसहितका भारतीय शहरहरुमा समेत आफ्ना उडानलाई फैलाउने योजना सुनाएको थियो।

तर, ६–महिने परिक्षण अवधिमा बुद्ध एयरको योजनाअनुसार कोलकत्ता गन्तव्यको उसको व्यापारले पटक्कै गति लिन सकेन। उडानलाई निरन्तरता दिन आवश्यक न्यूनतम यात्रु पनि नपाएपछि अन्ततः सोमबार बुद्ध एयरले कोलकत्ता गन्तव्य बन्द नै गर्ने निर्णय गरेको छ।

कोलकत्तामा नेपाली विमान कम्पनी बुद्धको व्यापार विस्तार गर्नमा एक प्रमुख बाधक एयर इण्डिया पनि देखियो।

बुद्ध एयरले सानो विमान टीआर ७२–५०० बाट हप्ताको दुई उडान भरिरहेको थियो। तर एयर इण्डियाले भने एआइ २४७ नामक ठूलो विमानबाट कलकत्ताबाटै उडान भैरहेको छ। त्यो पनि हप्ताको चार उडान।

बुद्धले कोलकत्ता–काठमाडौं आवतजावत गर्ने यात्रुहरुको संख्या ठूलो रहेको अध्ययनका आधारमा त्यहाँ आफ्नो सेवा सुरु गरेको थियो। तर, पछि तीमध्ये धेरैले स्थल मार्ग नै रोज्ने गरेको पाइयो।

‘अर्को एयर इण्डियाको उडान धेरै र उनीहरुको विमान समेत ठूलो भएकोले बुद्धले त्यहाँ संघर्ष पनि गर्न नसकेको,’ बुद्ध एयरका प्रवक्ता रुपेश शाक्यले नेपालखबरलाई बताए।
उनले थपे ‘जेठदेखि उडान सुरु गरेकोमा सुरुदेखि नै घाटामा चलाउन पर्यो। अहिले सम्म पनि कहिल्यै राम्रो व्यापार गर्न नसकेपछि बन्द नै गर्नुपर्ने बाध्यता आयो।’

शाक्यले नेपाली विमानको संचालन खर्च बढि हुनुको प्रमुख कारण नै एयर ट्राफिक मान्छन्। उनी भन्छन्, ‘काठमाडौंबाट अब अन्तराष्ट्रिय उडान गर्ने हाम्रो कुनै योजना नै छैन। एयर ट्राफिक बढि भएका कारण काठमाडौंबाट अन्तराष्ट्रिय उडान गर्न सक्तैनौं। आकाशमा धेरै समय होल्ड गर्नु (पर्खिनु) पर्दा खर्च निकै बढिरहेको छ।’

शाक्यका अनुसार बुद्धले सानो जहाज उडाउँदा काठमाडौं–कलकत्ता उडानमा धेरै समय लाग्ने जसले गर्दा धेरै इन्धन खपत भई अन्ततः संञ्चालन खर्च बढी भयो । आउजाउ खर्च उठाउन समेत बुद्धलाई मुस्किल पर्यो।

त्यसो त शुरुदेखि नै निरन्तर घाटामा चलिरहेको बुद्ध एयर, भारतीय नागरिक उड्यन प्राधिकरणको कुनै एयरलाइन्सले कुनै एउटा गन्तव्यमा सेवा शुरु गरेपछि कम्तिमा ६ महिना सञ्चालन गर्नैैपर्ने बाध्यात्मक प्रावधानका कारण निरन्तरता दिइरहेको थियो। त्यो प्रावधानको अवधि सकिएलगत्तै सोमबार उसले अन्तिम उडान भरेको हो।

तर एयर इण्डिया भने ठूलो विमान भएकाले अलि छोटो समयमा नेपाल आइपुग्छ। उसको संचालनमा आउने धेरै खर्चमध्ये इन्धनबापतको खर्च कम लाग्छ।

कलकत्ता परिक्षण सफल हुन नसकेसँगै बुद्ध एयरले भारतमा अन्य गन्तव्यमा अहिले नै जान नसकिने ठहर समेत गरिसकको छ। उसले अहिले बनारसको उडानलाई भने कायम राख्ने निर्णय गरेको छ। नाफा नभए पनि संचालन खर्च धानिरहेको बनारसमा भने थप एक उडान गर्ने योजना बनाएको छ। अहिले बनारसका लागि हप्ताको दुई उडान गरिरहेकोमा तीन पुर्याउने योजना छ।

गत १३ जेठ २०७६ मा उत्साहको साथ बुद्धले कलकत्ता उडान थालेको थियो। बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बस्नेतले कलकत्ता उडान शुरुगर्दा ‘यो हाम्रो महत्वपूर्ण गन्तव्य हो, यसमा सफल भयौं भने अन्य गन्तव्य बिस्तारको ढोका खुल्ने’ बताएका थिए। कलकत्ता सफल भए चेन्नई, हैदरावाद, बैंग्लौरसहितका शहरमा उडान गर्ने योजना उनले सुनाएका थिए।

नेपालको वैदेशिक व्यापारको मूख्यद्वार नै कलकत्ता भएको बताउँदै बुद्ध एयरले यो रुटमा आफ्नो सेवा शुरु गर्दा मुख्यतः व्यापारका लागि पुग्ने दुवैतर्फका व्यापारी र भ्रमण गर्न मन पराउने समग्र बंगालीहरुलाई लक्षित गरेको थियो। कलकत्ताबाट पर्याप्त भारतीय नागरिक नेपाल भ्रमणमा आउने आंकलन गरेर बुद्धले त्यतिबेला आफ्नो उडान विस्तार गरेको थियो तर उसको रणनीति सफल हुन सकेन।

बुद्ध एयरले कलकत्तामा आफ्नै सक्रियतामा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम पनि गर्याे। बुद्ध होलिडे कार्यक्रममार्फत कम्पनीले विभिन्न गतिबिधि गरे पनि अपेक्षित यात्रु नपाएपछि उडान बन्द गरेको कम्पनीले बताएको छ। नेपालको आन्तरिक उडान बजारमा सबैभन्दा सफल नीजि एयरलाइन्स कम्पनी रहेको बुद्धले समेत कलकत्ता गन्तव्यलाई टिकाउन नसकेपछि विदेश उडानको तयारी गरिरहेका अन्य नेपाली वायुसेवा कम्पनीलाई एकपटक पुनर्विचार गर्न बाध्य बनाएको छ।

कोलकत्ता–काठमाडौं उडान गरिरहेको एयर इण्डियाको काडमाडौतर्फको व्यापार ठीकै देखिए पनि सो कम्पनीको समग्र व्यवसाय भने घाटामा पुगेको छ।

गतसाता भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले त्यहाँको राज्यसभालाई सम्बोधन गर्दै एयर इन्डिया कम्पनी ठूलो घाटामा चलाउनु परिरहेको र त्यसलाई नीजिकरण नगर्ने हो भने छिटै बन्द गर्नुपर्ने जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .