नेकपाले धरान उपमहानगरपालिकाको मेयर पद गुमाउने निश्चित भएको छ।
नेकपा र कांग्रेस उम्मेद्वारबीच कडा प्रतिस्पर्धा देखिएको धरानमा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेस उम्मेदवारको जित सुनिश्चित देखिएको हो।
पछिल्लो मत परिणाम अनुसार ५३ हजार पाँच सय १७ गन्दा कांग्रेसका तिलक राई नेकपाका उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले अगाडि देखिएका छन्।
तिलकले २५ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् भने प्रकाशले २३ हजार ३ सय ९३ मत प्राप्त गरेका छन्।
मतगणना अन्तिम चरणमा पुग्दैगर्दा कांग्रेसले धरानमा विजय ¥यालीको तयारी गरेको छ।
बहुदल आएको २९ वर्षपछि धरानमा पहिलो पटक नेकपाको लालकिल्ला तोडिने अवस्था सिर्जना भएको भन्दै कांग्रेस नेता, कार्यकर्ता र समर्थकले खुसीयाली मनाउने तयारी गरेका हुन्।
बहुदलपछिको सबै स्थानीय निर्वाचनमा धरानमा कम्युनिष्ट उम्मेदवारले जित्दै आएका थिए।
शनिबार भएको उपनिर्वाचनमा धरानमा ५५ हजार ११ मत खसेको थियो। अब झण्डै दुई हजार मतमात्रै गन्न बाँकी छ।
धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तारा सुब्बाको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। सुब्बा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
गत निर्वाचनमा एक्लै चुनाव जितेको एमाले यसपटक माओवादीसँगको एकतापछि पनि धरानमा विजयी हुन नसक्ने अबस्थामा पुगेको छ।
यसअघि हिजो नेकपाले पहिला आफू निर्वाचित भएको प्रदेशसभा अन्तर्गतको भक्तपुर १ ‘क’ गुमाएको थियो।
त्यहाँ कांग्रेसका उम्मेवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत ल्याएर नेकपाका डीपी ढकाललाई पराजित गरेका थिए।
ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे। जुन दुई वर्षअघि तत्काली एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले प्राप्त गरेको मतभन्दा कम हो।

प्रतिक्रिया