‘बधाई छ, थप समय मन्त्री भएकामा। सफल कार्यकालको शुभकामना छ’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको मोबाइलमा मन्त्रिमण्डल हेरफेरपछि यस्तै मेसेज आइरहे।
तर एउटा पब्लिकेसन्स हाउसका केही शक्तिशाली व्यक्तिहरूबाट समेत त्यस्तै मेसेज आयो जुन मेसेजले साताभर नै सञ्चार मन्त्रालयको माथिल्लो तहमा चर्चा पायो।
अन्य धेरै शृंखलामा त्यस्तो मेसेज ठूलो मिडिया हाउस कान्तिपुर पब्लिकेसन्सका प्रभावशाली व्यक्ति रहेको बताइन्छ। २०७६ मंसिर ५ गते मन्त्रिमण्डल राति फेरबदल भएसँगै भोलिपल्ट बिहानै आएको त्यो मेसेजलाई कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मालाई जोडेर सञ्चारका कर्मचारीहरू छलफल गरिरहेका थिए।
२०७६ भदौ ९ गते सोमबार कान्तिपुरले शर्माको नियुक्ति गरेसँगै पत्रकार र कर्मचारीहरूको न्यूनतम पारिश्रमिक नदिनका लागि लबिङ थालेका थिए। सरकारको निर्णय कार्यान्वयन नगरे केएमजी (कान्तिपुर मिडिया ग्रुप) अप्ठेरोमा पर्न सक्ने चेतावनी मन्त्री बाँस्कोटाले दिएका थिए।
पत्रकारलाई सुविधा बढाउन नसक्ने भन्दै नवनियुक्त प्रधान सम्पादक शर्मा नेकपाका केही प्रभावशाली नेताहरूसँगै बाँस्कोटाको दैलोमा समेत पुगेका थिए। यो खबर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ।
त्यसअघि नै सके न्यूनतम पारिश्रमिक दिनबाट रोक्ने नसके मन्त्रिमण्डल फेरबदलमा बाँस्कोटा नै फाल्ने योजनासाथ शर्मालाई भित्र्याइएको चर्चा पनि चलेको थियो। त्यो अभियान सफल भएपछि पुगेको मंसिर ६ गतेको त्यो मेसेजले चर्चा पाउने नै भयो।
हुन त मन्त्री बाँस्कोटाले ‘म पदमा रहुँला नरहुँला तर न्यूनतम पारिश्रमिक भने कार्यान्वयन भएरै छाड्छ। त्यसैले यो खेलमा नलाग्नुहोला सुधीर जी’ भनी सम्झाएको चर्चा पनि पत्रकारहरूले गर्ने गरेका छन्।
दसैं अघि भएको भेटमा मन्त्री बाँस्कोटाले ‘मलाई मन्त्रीबाट ३ महिनाभित्र फाल्ने योजनासहित आउनुभएको रहेछ। शुभकामना छ तपाईंलाई’ भनी व्यंग्य गरेको प्रसंग मन्त्रालयका एक वरिष्ठ कर्मचारीले सुनाए।

प्रतिक्रिया