शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाको मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका छन्।
शुक्रबार मन्त्री पोखरेलले नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई मन्त्रालयमै बोलाए नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन्।
निजी मेडिकल कलेजहरुसँग बढी शुल्क फिर्ता गर्न सहमति भएको दुई दिनपछि मन्त्री पोखरेलले प्रधान सेनापतिलाई बोलाएर सैनिक कलेजले लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन। सेनाले चलाएको मेडिकल कलेजले पनि विद्यार्थीबाट बढी शुल्क लिएको भनेर चर्को आलोचना हुँदै आएको थियो
शिक्षा सचिव महेश प्रसाद दाहाल, चिकित्सा शिक्षा आयोगका अध्यक्ष श्री कृष्ण गिरीलाई साथमा राखेर सेनाको मेडिकल कलेजको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई जानकारी दिए।
मन्त्रीको निर्देशनपछि प्रधान सेनापति थापाले एक दुईदिन भित्रै बढी शुल्क फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने जवाफ दिएको केसीले बताए।
सरकार र निजी मेडिकल कलेजबीच मंगलबार राति बढी शुल्क फिर्ताको प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। सहमतिसँगै चितवन मेडिकल कलेजले शुक्रबार पत्रकार सम्मलेन गरेर बढी शुल्क फिर्ता प्रक्रिया अगाडि बढाएको बताएको छ।
Shares
प्रतिक्रिया