ad ad

राजनीति


धरानका युवामा सबैका आँखा, आउला नयाँ मतदाताबाट नाटकीय नतिजा?

धरानका युवामा सबैका आँखा, आउला नयाँ मतदाताबाट नाटकीय नतिजा?

सागर न्यौपाने
मंसिर १०, २०७६ मंगलबार १०:४५,

मंसिर १४ गते मेयर पदका लागि उपनिर्वाचन हुने सुनसरीको धरान उपमहानगरपालिकामा दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस बीच नै तीव्र प्रतिस्पर्धा देखिन्छ।

धरानको उपनिर्वाचनमा मैदानमैं खटिएका दलीय नेताहरु र चुनावलाई नजिकबाट नियालीरहेकाहरुले परम्परागत नतिजामा नाटकीय परिवर्तन ल्याउनसक्ने एउटा प्रमुख ‘फ्याक्टर’ को रुपमा लिएका छन्– यसपटक थपिएको १३ हजार नयाँ मतदाताको समूह।

उपमहानगरपालिकाको मेयर पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईबीच नै मुख्य प्रतिस्पर्धा छ । समाजवादी पार्टीले राम्रो उपस्थित जनाउने देखिएको छ।

नेपाली कांग्रेसले उक्त निर्वाचनलाई नेकपाको गढ तोड्ने अवसरको रुपमा लिएको छ । पार्टी सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवानेता गगन थापा लगायत अन्य चर्चित नेताहरु समेतको सहभागितामा उसले त्यहाँ बृहत सभा गरेकाे छ। यसअघि बरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्री शंशाक कोइरालाले चुनावी सभामा सम्बोधन गरिसकेका छन्।

मंगलबार पार्टी सभापतिको उपस्थितिमा धरानमा आफ्नो शक्तिप्रदर्शन गर्दै कांग्रेसले जनमत आफ्नो पक्षमा पार्ने तयारीमा छ।

उता सत्तारुढ दल नेकपाले पनि धरानमा स्थायी समितिका नेताहरुको सहभागितामा प्रचार गरिरहेको छ । उसले बुधबारको अन्तिम चुनावी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने जोड गरेको छ। प्रचण्ड जान सम्भव नभए पार्टीका अन्य शीर्ष नेताहरु लैजाने तयारी भइरहेको नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

नेकपा आत्मविश्वासी, कांग्रेस उत्तिकै आशावादी

७९ हजार २९० मतदाता रहेको धरान उपमहानगरपालिकामा यो उपचुनावमा १३ हजार ५ सय ५६ मतदाता थपिएका छन्। थपिएका मतदाताका कारण आफ्नो पार्टीको जीतलाई सजिलो हुने तर्क नेकपा र काँग्रेस दुवैतर्फका नेताहरुको आआफ्नै दाबी छन्।

२०४९ मा भएको निर्वाचनमा एमालेका ध्यानबहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङ्बोले सो क्षेत्रबाट चुनाव जितेका थिए । उपमहानगरपालिका भइसकेपछि पनि २०७४ सालमा एमालेकै तारा लिम्बु मेयर निर्वाचित हुँदा सो क्षेत्रमा एमालेले एक्लै बर्चस्व कायम गरेको थियो ।

तारा लिम्बुको निधन भएपछि सो उपमहानगरपालिकामा उपनिर्वाचनबाट मेयर चुन्न लागिएको हो।

मेयरपदमा तिनै लिम्बुसँग पराजित तिलक राई अहिलेपनि कांग्रेसबाट उम्मेदवार बनेका छन्। नेकपाले प्रकाश राईलाई मैदानमा उतारेको छ।

नेकपाका केन्द्रीय सदस्य तथा सो क्षेत्र हेर्ने जिम्मेवारी पाएका नेता हेमराज भण्डारी आफ्नो पार्टीले ढुक्कले चुनाव जित्ने दावी गर्छन् ।

उनले एमाले–माओवादी केन्द्रबीचको एकताबाट जीतको विश्वासिलो आधार बनेको बताए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने तत्कालिन एमालेको २० हजार ९ सय ७५ र माओवादी केन्द्रको ११ हजार १ सय ८० मत जोडेर एकतापछि बनेको नेकपाको मात्रै ३२ हजार मत छ। कांग्रेसको १६ हजार १ सय २ मत छ । तर, अघिल्लो निर्वाचनपछि त्यहाँ १३ हजार मतदाता थपिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य भण्डारीले भने, ‘नयाँ मतदाता थपिएको परिस्थितिमा पनि हामी १३ हजार मतले प्रष्टरुपमा अगाडी छौं। जित्ने निश्चित छ।’ केहि समययता कायम रहेको पार्टीभित्रको आन्तरिक एकतालाई भन्डारीले जितको अर्को बलियो आधारको रुपमा प्रस्तुत गरे।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘अहिले पार्टीभित्रका सबै आन्तरिक समस्या समाधान भएका छन्। सिंगो पार्टी एक ढिक्का भएर मैदानमा उत्रिएको छ।’
त्यसो त कांग्रेस पनि जीतको लागि उत्तिकै आशावादी देखिएको छ।

पटक पटक चुनाव जितेर पनि तत्कालिन मेयरहरुले सो क्षेत्रमा राम्रो काम नगर्दा असन्तुष्ट बनेका मतदातालाई आफुतिर आकर्षित गरेर चुनाव जित्ने योजना कार्यान्वयन गरेको कांग्रेस नेताहरुले बताए।

कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले चुनाव प्रचारका क्रममा जनताले परिवर्तन चाहेको कुरा प्रष्टै अनुभति गरेको र त्यो असन्तुष्टिलाई आफूहरुले यसपटक मतपेटिकामा रुपान्तरण गर्ने दाबी गरे।

तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजल गुरुङले पनि नेकपासँग धेरै मतदाता वाक्क भइसकेका हुँदा अब उनीहरुले कांग्रेसलाई मत दिने दाबी गरे।
‘यसपाली हामीले नेकपाको लालकिल्ला तोड्न सक्छौं किनभने हामीले युवाको साथ पाएका छौं,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘धरानमा तिलक राईको पक्षमा लहरै आएको छ।’
कांग्रेसले पनि जीतको अर्काे आधारका रुपमा अन्तरघातको अन्त्यलाई पनि लिएको छ। सर्वसम्मत उम्मेदवार छनौटबाटै पार्टीभित्र हुने अन्तरघातको अन्त्य भएको उसले दाबी गरेको छ।
धरानमा चुनाव प्रचारमा सक्रिय सिजल गुरुङले ठूलो मतअन्तरले नभए पनि झिनो अन्तरले विजयी हुने बताए।

सबैका आँखामा नयाँ मतदाता

दुईवर्ष अघिको चुनावमा भन्दा अहिले साढे १३ हजार मतदाता थपिएका छन्। युवाहरु थपिएका कारण उनीहरुको मत निर्णायक हुने कतिपयको विश्लेषण छ।

अन्तर्राष्ट्रिय फेसन र नयाँ नयाँ ट्रेन्डहरुप्रति बढि रुची राख्ने र दलगत राजनीतिप्रति चासो कम राख्ने धरानको कान्छो युवापुस्ताले कसका पक्षमा छाप हान्ने हो भन्ने अनुमान गर्न सहज छैन।
पुराना दलहरु नेकपा र काग्रेससँग उनीहरु त्यति सन्तुष्ट नभएको अभिव्यक्ति दिने गरेका कारण अहिले दुवै दलको मुख्य जोड त्यहि नयाँ पुस्तालाई आफूतर्फ तान्न केन्द्रीत छ।
उनीहरु निर्णायक हुने कारण त्यसलाई आफ्नो पक्षमा पार्न नेकपा र कांग्रेस दुवै सक्रीय छन।

धरानका कांग्रेस नेता किशोर राईले स्थानीय, प्रदेश र संघ गरि सबैतिर सत्तामा रहेका नेकपाका सरकारसँग असन्तुष्ट मतदाताले धरानको मेयरमा कांग्रेसलाई विजयी बनाउने बताउँछन्।

अर्कोतर्फ बढेका मतदातामध्येबाट ५० प्रतिशत मत आफूले पाउने नेकपाका नेताको दाबी छ।

चुनावी नतिजामा धक्का दिनसक्ने अरु दल

धरान उपमहानगरपालिकाको मेयर पदको चुनावमा नेकपा र कांग्रेसले विश्लेषण गरेभन्दा फरक नतिजा आउने संभावना रहेको साना दलहरुको दाबी छ ।
११ स्वतन्त्रसहित २३ जना उम्मेदवार धरानमा अहिले मैदानमा उत्रेका छन्।

नयाँ पार्टीसँग एकता गरेर बनेको समाजवादी पार्टीले झन्डै ३ हजार मत ल्याउने नेकपा, कांग्रेसकै नेताहरुको विश्लेषण छ। त्यस आधारमै भन्दा पनि समाजवादी पार्टीले नेकपा र कांग्रेसकै मत पनि काट्न सक्ने सम्भावना राख्छ।

त्यस्तै साझा पार्टीका राजनकुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानका अम्बरबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका कुमार बराईली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन विश्वकर्मा, समाजवादी पार्टीका गजेन्द्र इस्वोले विभिन्न क्षेत्रका मत काट्नेछन्। उनीहरुबीच आपसमा हुनसक्ने औपचारिक, अनौपचारिक समझदारी र गठबन्धनले पनि सानो मतको भिन्नतालाई प्रभाव पार्नसक्छ।

राई, लिम्बु, किराँत लगायतका जनजातीहरुको बाहुल्य रहेको उक्त निर्वाचन क्षेत्रमा सबैजसो पार्टीका उम्मेदवार जनजाती समुदायकै छन। प्रमुख दल कांग्रेस र नेकपाको रणनीति पनि समुदायमा रहेका आ–आफ्ना दलीय ‘भोट ब्लक’ लाई कायम राख्दै त्यसमा थप गरि नतिजालाई आफ्नो पक्षमा राख्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .