प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेपछि हृदयश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
आठ वर्ष सत्ताबाहिर रहेका त्रिपाठीको ओली मन्त्रिमण्डलमा प्रवेशलाई धेरैले गतिलो ‘कमब्याक’ मानेका छन्।
पञ्चायतकालमा वामपन्थी राजनीतिबाट आफ्नो ‘करिअर’ सुरु गरेका त्रिपाठी २०३४ मा विद्यार्थी आन्दोलनमा सहभागी बनेका थिए। उनले २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य चुनाव पनि लडेका थिए।
बहुदल स्थापनापछि २०४७ बाट उनी गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा प्रवेश गरे। त्यसयता मधेस केन्द्रित राजनीति गरेका उनी तीन पटक मन्त्री पनि बने।
तर, चौथो पटक भने उनी कम्युनिस्ट पार्टीको सरकारमा मन्त्री बनेका छन्।
प्रतिनिधिसभा निर्वाचनकै मुखमा राष्ट्रिय जनता पार्टी छोडेर उनी ‘स्वतन्त्र राजनीतिक समूह’ बनाई स्वतन्त्रबाट चुनाव लडेका थिए। नवलपरासी क्षेत्र नम्बर १ बाट एमालेको सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्रबाट कांग्रेसका देवकरण जयसवाललाई हराएर चुनाव जितेका त्रिपाठीले कहिल्यै पनि पार्टीको मुख्य नेतृत्व भने लिएका छैनन्। अर्थात् ‘शक्तिशाली सेकेन्डम्यान’ बनेर उनी नेपाली राजनीतिमा जमिरहेका छन्।
गजेन्द्रनारायण सिंहको निधनपश्चात उनकै श्रीमतीले सद्भावना पार्टी (आनन्ददेवी) गठन गरिन्। त्रिपाठी त्यसको पनि प्रभावशाली नेता थिए।
सोही पार्टीबाट उनले २०४८, २०५६ र २०५१ को निर्वाचनमा नवलपरासीबाट चुनाव जिते। त्रिपाठी २०६४ सालको संविधानसभा निर्वाचनमा पनि उनी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विजयी भए। तर, ०७० को निर्वाचनमा भने पार्टीको आन्तरिक किचलोका कारण पराजित भएको उनी बताउँछन्।
त्रिपाठीलाई स्थानीयहरुले ‘बाबा’ भनेर सम्बोधन गर्छन, स्पष्ट र नरम प्रकृतिका भएपनि नेपाली राजनीतिमा चलाख नेताका रुपमा उनी परिचित छन्। यसलाई ८ वर्षपछि सत्तामा उनले गरेको कमब्याकले पनि पुष्टि गर्दछ।
२०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भू संरक्षण मन्त्री बनेका उनी २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री भएका थिए। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री बनेका थिए। उनी भौतिक योजना मन्त्री भएकै बेला काठमाडौंको सडक चौडा पार्ने अभियान थालिएको थियो।
कृषि मन्त्रालयबाट जनताको काम हुन नसकेको भन्दै मन्त्रालय नै खारेज गर्न माग गरेर चर्चामा आएका त्रिपाठीले कर्मचारी व्यवस्थापनसंग जोडिएको सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
वामपन्थबाट राजनीति सुरु गरेर दशकौँसम्म मधेसकेन्द्रित राजनीतिको खम्बा बनेका त्रिपाठी पुनः वामपन्थमा फर्केका छन्।
Shares

प्रतिक्रिया