राजनीति


ओलीले भुसाललाई बोलाए, प्रचण्डले भट्टलाई

ओलीले भुसाललाई बोलाए, प्रचण्डले भट्टलाई

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार २:५७,

लुम्बिनीमा रहेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर काठमाडौं बोलाए।

ओली नेतृत्वमा सरकार बनेदेखि नै उनका कट्टर आलोचकका रुपमा उभिएका भुसाललाई नयाँ मन्त्रीपरिषदको सूची राष्ट्रपति कार्यालय पठाउनुअघि काठमाडौं बोलाइएको हो, जुन सूचीमा उनको नाम कृषिमन्त्रीका रुपमा समावेश छ।

लुम्बिनीमा सञ्चार सम्मेलनमा सहभागी भएर भुसाल गृह जिल्ला र निर्वाचन क्षेत्र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका थिए।

पार्टीमा माधवकुमार नेपाल निकट भुसाललाई प्रधानमन्त्री ओलीले बिहीबार बिहानसम्म काठमाडौं आउन भनेका थिए। बिहीबार अन्य नयाँ मन्त्रीहरूसँगै भुसालले कृषि विकास तथा पशुपंक्षी मन्त्रीको सपथ लिनेछन्।

केही महिनाअघि प्रधानमन्त्री ओलीले भुसाललाई बालुवाटार निम्त्याएर लामो छलफल गर्ने क्रममा सरकारमा समावेश हुन प्रस्ताव गरेका थिए। मन्त्री बन्ने प्रस्ताव आएपछि उनले दुई मन्त्रालयमा दावी गरेका थिए– अर्थ वा कृषि।

‘कृषिको क्षेत्रमा राम्रै काम गर्न सकिन्छ भने उहाँको सोचाई र योजना छ, त्यसैले कृषि मन्त्रालयमा जिम्मेवारी सम्हाल्नका लागि तयार हुनु भएको हो,’ भुसाल निकट नेकपाका एक नेता भन्छन्।

पार्टीभित्र भुसाल वैचारिक नेताका रुपमा चिनिन्छन्। यसअघि कृषिमन्त्रीबाट चक्रपाणि खनाललाई हटाएका छन्।

यसैगरी गृह जिल्लाको कार्यक्रममा सहभागी हुन कैलाली पुगेका लेखराज भट्ट बुधबार दिउँसो काठमाडौं आइपुगेका छन्। अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएपछि आफु काठमाडौं आएको भट्टले बताए। पूर्व माओवादी नेता भट्ट नयाँ मन्त्रिपरिषदमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री बनेका छन्।

प्रधानमन्त्री ओलीले मातृका यादवलाई हटाएर उद्योग मन्त्रीमा भट्टलाई नियुक्त गरेका हुन्। प्रचण्ड निकट नेता भट्टले केही दिनअघि सभामुख हुन अस्वीकार गरेको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad