छापा खबर


घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी, आइजिपी नै खटाउँछन् घुमुवा

 घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी, आइजिपी नै खटाउँछन् घुमुवा

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार २:५६,

असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टिममा थिए । डिएसपी होवीन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए ।

प्रहरीका महत्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैँ अपराधमा लागे । गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लुटपाटमा संलग्न भएको खुलेपछि उनलाई नै हिरासतमा राखेर परिसरले मुद्दा चलायो । हाल उनी जेलमा छन् ।

असइ सन्तोष सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले आफ्नो विशेष टोलीका इन्चार्जका रूपमा खटाएका थिए ।

सुवेदीको टोलीले अपराध अनुसन्धानमा केही राम्रा काम पनि गरेका थिए । काम गर्ने मात्र नभई उनीहरू अवैध असुलीका गतिविधिमा पनि संलग्न थिए । ९ कात्तिकमा उनको असली रूप थाहा भयो ।

यी घटनाले सूचना संकलन र अपराध अनुसन्धानका नाममा खटाइने ‘घुमुवा प्रहरी’हरू कस्ता गतिविधिमा संलग्न हुन्छन् भन्ने प्रस्ट हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सादा पोसाकमा खटिने प्रहरीहरू विगतमा पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए । जसका कारण संगठन नै बदनाम भएको थियो । तर, प्रहरी नेतृत्वले उनीहरूलाई सच्याउन कुनै पहल गरेको छैन ।

प्रहरी कार्यालय मात्र होइन, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नै घुमुवा प्रहरी परिचालन गरेका छन् ।

इन्स्पेक्टर कृष्णदेव साहको नेतृत्वमा महानिरीक्षक खनालले १३ जना घुमुवा तराईका जिल्लामा खटाएका छन् । जुन टोलीका बारेमा प्रदेश र जिल्लाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको छैन ।

खासगरी तस्करी गर्ने समूहसँग उनीहरूको उठबस हुने गरेको स्रोत बताउँछ । इन्स्पेक्टर साहको नेतृत्वमा खटिएका घुमुवा विगतमा पटक–पटक कारबाहीमा परेर बदनाम भएका छन् ।

लामो समयदेखि तराईका जिल्लामा काम गरेका ती प्रहरीलाई विनाउद्देश्य आइजिपीले त्यसरी खटाउनुलाई प्रहरी अधिकारीहरूले नै आश्चर्य मानेका छन् । ‘करिब १९ वर्षअघिसम्म प्रहरीमा आइजिपीले यसरी घुमुवा खटाउने चलन थियो,’ एक प्रहरी अधिकारीले भने, ‘अहिले फेरि यस्तो विकृति सुरु भएको छ ।’

पौडेललाई गोली हान्ने घुमुवा फिल्डमै
निलम्बन गरी फौजदारी मुद्दा चलाउन सिफारिस गरिएका तीनजना घुमुवा प्रहरीलाई प्रहरी प्रधान कार्यालयले फिल्डमै खटाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिई गोली हानेको आरोपमा कारबाही सिफारिस भएका इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई अझै कारबाही गरिएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले उनीहरूलाई तत्काल निलम्बन गरी ज्यान मुद्दा चलाउन सिफारिस गरेको थियो । दोहोरो मुठभेड नभई हत्या गरेको ठकर गरी आयोगले त्यस्तो सिफारिस गरे पनि उनीहरूलाई कारबाहीको सट्टा फिल्डमै खटाइएको छ ।

गोली हान्न निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कारबाहीको निर्देशन दिएको थियो । प्रहरी महानिरीक्षक खनालको निर्देशनमै पौडेलमाथि गोली प्रहार भएको आयोगको ठहर छ ।

पौडेलको मृत्यु भइसकेपछि मात्र जिल्लाका अन्य प्रहरीले जानकारी पाएका थिए । सर्लाहीका एसपी गोपाचन्द्र भट्टराईलाई आइजिपी खनालले फोन गरेर जानकारी गराएपछि मात्र आफ्नै जिल्लामा भएको घटना थाहा पाएका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरीले समाचार पढेर थाहा पाएका थिए । गत ५ असारमा पौडेलको सर्लाहीको लालबन्दीमा हत्या भएको थियो । इन्कान्टरका नाममा गैरन्यायिक हत्या बढेको भन्दै आयोगले यस्ता गतिविधिमा संलग्न प्रहरीलाई नै मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad