ad ad

राजनीति


एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

सत्ता गठबन्धनको 'क्लिन स्विप' योजना विफल
एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

फाइल तस्बिर


सागर न्यौपाने
माघ १२, २०७८ बुधबार १८:१३, काठमाडौँ

पाँच दलीय गठबन्धनको घेराबन्दीबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ। 

१९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ। 

राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ। तर सात सिट गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ।                                                                                                                                                बुधबारकाे निर्वाचनसँगै राष्ट्रियसभा अध्यक्षसहित नेकपा एमालेेका १८, माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रिय जनमोर्चा नेपालका १ सांसद कायम भएका छन्।                                                                                      अब राष्ट्रपतिले माओवादीका रामनाराययण बिडारीकाे स्थानमा एकजना मनोनीत गर्न बाँकी छ। वामदेव गाैतम र डा. खिमलाल देवकोटा स्वतन्त्र हैैसियतमा छन्।                                                                                    तीमध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।

जसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए। यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन स्विप गर्न बनाएको योजना पनि विफल भएको छ।  

रोचक त के छ भने राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ। नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो। 

एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन। जसकारण सात सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम रहेको छ।

निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।

एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन्।

एमालेबाट अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको चार वर्षे पदावधि  

सकिएको थियो। सात सिट गुमाए पनि राष्ट्रिय सभामा एमालेका १७ सदस्य बाँकी छन्। 

तर, एकैपटक सात सदस्य गुमाएर पनि  राष्ट्रिय सभामा एमाले नै पहिलो दल बनेको हो। 

बहुमत गुमाउँदै अल्पमतमा एमाले 
माओवादीसँगको चुनावी तालमेल हुँदै दुई पार्टी एकता गरेपछि नेकपा बन्दा राष्ट्रिय सभामा दुईतिहाइ सदस्य थिए। अर्थात् एकतापछि बनेको नेकपाको ४७ जना सांसद थिए।

५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

राष्ट्रपतिबाट मनोनित कोटामा पनि तीनैजना विज्ञका रुपमा नेकपानिकट नेताहरु राष्ट्रिय सभा सदस्य बनाइएका थिए। 

बुधबार नै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रदेश १ को अल्पसंख्यक समुदायबाट एमालेले जितेको बाहेक  नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन विजयी भएको छ। अर्थात १९ सिटमा गठबन्धनले १८ सिट जितेको छ। 

२०७५ असार ४ गते भएको गोला प्रथाबमोजिम उनीहरुको चार वर्षीय पदावधि कायम भएको थियो। 

जसपाबाहेक चारै दलका थपिए
त्यसो त सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले कार्यकाल सकिएको चारसहित थप एक सदस्य जितेको छ। यद्यपि नेकपा हुँदा विज्ञका रुपमा रहेका रामनारायण बिडारीको पनि चार वर्षे कार्यकाल सकिएको छ। उनको ठाउँमा राष्ट्रपतिले नियुक्त गर्नेछिन्। 

नेकपा (एकीकृत समाजवादी) ले पनि पदावधि सकिएको चारसहित थप एक सदस्य पाएको छ।

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले चार वर्षे कार्यकाल सकिएको तीनसहित अरु तीन सदस्य थपेको छ। अब कांग्रेसको राष्ट्रिय सभामा ९ सदस्य भएको छ। 

राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चा पहिलो पटक प्रवेश गरेको छ। २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो। 
जसपाले भने एमालेका ८ मध्ये दुई सिट लिएकोमा एक मात्रै जितेको छ। 

कार्यकाल सकिनुभन्दा ३५ दिन अगाडि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बुधबार निर्वाचन भएको हो।

उनीहरुको कार्यकाल फागुन २१ गतेबाट सुरु भएर ६ वर्षसम्म कायम रहनेछ। त्यसआधारमा अहिले जितेका १९ सहित बाँकी सदस्यहरु ६ वर्षसम्म राष्ट्रियसभामा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .