मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
रगतमा छ कि नातामा माया
विश्वासमा छ कि वाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया?
स्वर सम्राट नारायण गोपालले गाएको यो गीतले मायाँ कहाँ छ भनेर सोधेजस्तै म पनि पाठकहरूलाई सोध्न चाहन्छु– केमा छ हाम्रो राष्ट्रियता? टोपीमा, दौरा–सुरुवालमा, सगरमाथामा, चुच्चे नक्सामा, दालभातमा...? मेरो बुझाइमा राष्ट्रियता मूलतः एउटा भावनात्मक विषय हो, तापनि यसलाई व्यवहारमा पनि उतार्न सक्नुपर्छ।
हाम्रो देश नेपाल कहिल्यै पनि पराधीन (अरूको अधीनमा नबसेको) नभएकामा हामी नेपाली गर्व गर्छौं, जुन स्वाभाविक पनि हो। तर अहिले आएर हामीमा परनिर्भर हुने बानी बढेको छ। हामी विदेशीले दान दिएको र खाडी मुलुकमा पसिना बगाउने हाम्रा दाजुभाइ–दिदीबहिनीले कमाएको पैसा विदेशबाट आयातीत समान किन्नमा निर्धक्कसँग खर्च गरिरहेका छौं। हामी कसरी आत्मनिर्भर हुन सक्छौं भन्नेतिर हामीले सोच्ने बेला आइसक्यो।
आत्मनिर्भर हुनुको मतलब के होइन भने हामी आफूलाई चाहिने सबै कुरा आफैं उत्पादन गर्ने, जुन कुरा अहिलेको विश्व अर्थ व्यवस्थामा सम्भव छैन। हामीलाई प्रकृतिले भौगोलिक विविधता दिएको छ, जसका कारण हाम्रो देशमा सबैजसो हावापानीमा हुने खेती गर्न सकिन्छ। हामी आफ्नो मुलुकलाई कृषिप्रधान देश भन्छौं, तर तरकारीसमेत विदेशबाट आएको किनेर खान्छौं। त्यति मात्र होइन, गत तिहारमा करौडौं रुपियाँको विदेशी सयपत्री र प्लास्टिकका फूल किन्यौं। काठमाडौंनजिकैका डाँडाकाँडा भने सयपत्री फूलले ढाकिएका थिए।
हाम्रो देशको पैसा नेपाली रुपियाँ नेपालको सिमानाभन्दा बाहिर कतै चल्दैन। यसको मतलब, हामीले जति सामान विदेशबाट (भारतबाट समेत) किन्छौं, त्यसका लागि हामीलाई विदेशी पैसा चाहिन्छ, जुन मुख्यतः खाडी मुलुकमा पसिना बगाउने हाम्रा दाजुभाइ–दिदीबहिनीबाट आउँछ। त्यत्रो दुःख गरेर कमाएको पैसा आफ्नै बारीमा फलाउन सकिने फलफूल, तरकारी किन्नमा खर्च गर्नु कत्तिको बुद्धिमानी होला? त्यस्तै गरेर अन्नबाली र तरकारीको बीउ पनि विदेशबाटै आउँछ। कतिसम्म भने धनियाँको बीउसमेत नेपालभन्दा धेरै धनी देश इटलीबाट आउँछ। कस्तो विडम्बना!
गएको एक वर्षमा प्रत्येक नेपाली परिवारले सालाखाला ४ हजार रुपियाँको विदेशी तरकारी किनेर खायौं। यो रकम त्यति ठूलो नलाग्ला, तर प्रत्येक नेपालीले खाडी मुलुकमा १०० कमाउँदा करिब ४० रुपियाँ विदेशबाट आएको तरकारी किन्नमा मात्रै खर्च भयो।
खुला बजार अर्थतन्त्रका कारण विदेशबाट आउने सामानमा प्रतिबन्ध लगाउने काम राजनीतिक र भौगोलिक दृष्टिकोणले सजिलो छैन। त्यस्तै गरेर ठूलो परिमाणमा आधुनिक प्रविधि प्रयोग गरेर उत्पादित कृषि उत्पादनसँग हाम्रो देशका साना किसानले उब्जाएका कृषि उपजले प्रतिस्पर्धा गर्न सक्दैन। त्यसमा पनि यातायात कठिनाइले गर्दा पहाडमा उत्पादन भएका वस्तु बजारसम्म पुर्याउँदा महँगो पर्न जान्छ। उदाहरणका लागि चीनबाट आएको स्याउ जुम्लाको स्याउभन्दा सस्तो हुन्छ।
यो समस्या समाधानका उपायमा ‘स्वदेशी कृषि उत्पादनको उपभोग बढाऊँ, महँगो भए पनि स्वदेशी कृषि उत्पादन नै किनौं’ अभियान चलाउनपर्छ। नेपालमा उत्पादित कृषि उपजमा नेपाली झण्डाको लोगो राख्न अनिवार्य गर्नुपर्छ। यसले ग्राहकलाई स्वदेशी उत्पादनको राम्रो जानकारी दिन्छ। यो काम प्याकेजिङ नगरी खुलै बिक्री गरिने उत्पादनका लागि त्यति सजिलो नभए पनि विक्रेताले आफूले बिक्री गरेको सामान नेपाली उत्पादन हो कि होइन भनेर उपभोक्तालाई जानकारी दिनसक्नुपर्छ। त्यस्तै गरेर हामी उपभोक्ताले पनि सकभर स्थानीय र मौसमी कृषि उपजको अधिकतम उपभोग गर्ने बानी बसाल्नुपर्छ। साथसाथै सकेसम्म आफ्नो घर छेउको एउटा सानो टुक्रा जमिनमा भए पनि मौसमअनुसारको २–४ बोट तरकारी, फलफूल लगाउँदा पैसाको बचतका साथै आफ्नो र आफूवरिपरिको वातावरणमा राम्रो प्रभाव पर्छ।
खुला बजार व्यवस्थामा उपभोक्ता (ग्राहक) नै राजा हुन् भनिन्छ। उपभोक्ताहरूले कुनै निश्चित देशबाट उत्पादित सामान बहिष्कार गरेर ठूलठूला राजनीतिक परिवर्तनमा सहयोग पुर्याएका छन्। जस्तै : दक्षिण अफ्रिकालाई गोराहरूको शासनबाट मुक्त पार्न।
हामीले पनि हाम्रो देशको कृषि उपजलाई प्रोत्साहन गर्न अलि महँगै भए पनि स्वदेशी उपज किन्ने बानी बसाल्न जरुरी छ। यसले हाम्रा साना किसानलाई कृषि उत्पादन बढाउन हौसला मिल्छ। आफूले उब्जाएको वस्तुले राम्रो मूल्य पाएमा अरू बढी फलाउन लाग्छन् र नयाँ पुस्ताको पनि यो पेसातर्फ आकर्षण बढ्छ। साथै यसले खेतीयोग्य जमिनको खण्डीकरण गर्ने काम पनि केही हदसम्म रोक्न मद्दत पुर्याउँछ।
हामीले उपभोक्ताहरूलाई नेपालमै उत्पादित कृषि उपजका फाइदाबारे जानकारी गराउनुपर्छ। जस्तै : स्वाद, ताजापन, आफ्नो देशको पैसा देशमै रहने, आफ्नै दिदीबहिनी, दाजुभाइले रोजगारी पाउने, टाढा टाढा देशबाट आएका उत्पादन ढुवानी गर्दा वातावरणमा असर पर्ने, आदि। त्यस्तै गरेर यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्नुपर्छ।
यो कामका लागि सरकारी संयन्त्रको भर पर्नुभन्दा प्रबुद्ध वर्ग (जो आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत र सजग हुनुको साथै बिहान–बेलुकीको छाक कसरी टार्ने भन्ने समस्याबाट पनि मुक्त छन्) ले गर्नु उचित हुन्छ। हैन भने कार्यालय खुल्छन्, कर्मचारी भर्ना हुन्छन्, अफिस घर बन्छन्, कर्मचारीका लागि गाडी किनिन्छन्, अरू काम भने सुस्त हुँदै जान्छन्।
Shares
प्रतिक्रिया