ad ad

राजनीति


यी ८२ वर्षीय कम्युनिस्ट : बाबुरामले माओवादी बनाए तर प्रचण्डको साथ छाडेनन्

भन्छन् : पहिलाको जस्तै माओवादीको लहर आएको छ
यी ८२ वर्षीय कम्युनिस्ट : बाबुरामले माओवादी बनाए तर प्रचण्डको साथ छाडेनन्

सागर न्यौपाने
पुस १०, २०७८ शनिबार २३:४, काठमाडौँ

शनिबार दिउँसो माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुग्दा कोटमा सजिएका निकै टाठा एक व्यक्तिमा नजर ठोकियो। 

माओवादी राष्ट्रिय सम्मेलन (अब आठौं महाधिवेशन) मा प्रतिनिधि बनेर आएकाहरु पार्टी कार्यालयमा डायरी, कलम र परिचयपत्र लिन जम्मा भएका थिए।

त्यहीकारण शुक्रबारदेखि नै पेरिसडाँडामा बाक्लो भीड थियो। शनिबार त झन् भीड बढ्ने नै भयो। त्यही भीडमा ती पाका युवावयका आफ्ना साथीहरुलाई कम्युनिष्ट आन्दोलनबारे बताइरहेका थिए। 

साथीहरुसँग गफमा मग्न उनीबारे जान्ने उत्सुकता जाग्यो। नजिकै पुगेर सोधेँ,  हजुर पनि प्रतिनिधि हो?, उनले भने, 'हो।'

अनि नाम सोधेँ, उनले जवाफ फर्काए-टेकनाथ न्यौपाने।

कति वर्ष पुग्नु भयो ? मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिए,  ८१ वर्ष, अब ८२ लाग्न ४ महिना बाँकी छ। माओवादीका प्रतिनिधिमध्ये उनी सबैभन्दा जेठा हुन्। 'म भन्दा जेठा कोही रहेनछन्,' न्यौपानेले नेपालखबरसँग भने, ' ७८ वर्षका चाहिँ अरु पनि रहेछन्।'

बुढ्यौली उमेर, काठमाडौंको यस्तो चिसोमा युवाकै उत्साह? मैले उनीतिर प्रश्न तेर्स्याएँ। 

'तृष्णा २५ वर्षे हुँदो रैछ। साहस घटेको छैन, झन् अहिले त माओवादी केन्द्रमा जनताको व्यापक आकर्षण बढेको छ। मलाई पनि खुशी लाग्या छ, त्यही खुसीले उत्साह जगायो। चिसो बिर्सायो। तर घुँडाले भने दु:ख दिँदैछ', उनले भने।

वि.सं. १९९८ वैशाख २४ गते स्याङ्जाको गल्याङमा जन्मिएका उनी २०३० देखि कम्युनिष्ट आन्दोलनमा लागेका रहेछन्।

'हाम्रो अध्यक्ष प्रचण्डले पुष्पलाल श्रेष्ठको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् २०२७ सालमा। मैले पनि पुष्पलालकै हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ २०३० मा,' न्यौपानेले विगत वर्णन गर्दै सुनाए।

केशरजंग रायमाझीसँग असमझदारी भएपछि पुष्पलालले २०१९ सालमा मार्क्सवादी पार्टी गठन गरेको सुनाउँदै उनले त्यही पार्टीले देशभर संगठन बनाउँदा स्याङ्जामा आफू पनि सदस्य बनेको बताए। 

२०२४ सालमा पुष्पलालले रायमाझीलाई हटाएर नयाँ जनवादी  कार्यक्रम ल्याएपछि उनमा कम्युनिष्ट बन्ने इच्छा जागेको हो। 'कम्युनिष्ट सदस्यता लिन त्यसबेला निकै गाह्रो थियो,' उनले भने, 'सबै विश्वास दिलाउनु पर्थ्यो। हरेक क्षण परीक्षा जस्तै थियो, त्यसमाथि पञ्चायत व्यवस्था।' 

उतिबेला कम्युनिष्ट हुन सजिलो थिएन। तर उनले डरलाई चिरेर भए पनि कम्युनिष्टको बाटोमा हिँडेको सुनाए।

'डर त निकै थियो तर मनभित्रै दबाएर संघर्ष गर्ने संकल्प गरेँ, त्यसपछि सुरु भयो मेरो कम्युनिष्ट यात्रा सुरु भयो,'न्यौपानेले भने।

जबज मन नपरेर विद्रोह 
२०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था आयो। एमाले पार्टी संसदीय व्यवस्थामा राम्रैसँग उदायो। तर एमाले महासचिव मदन भण्डारीले अघि सारेको 'जनताको बहुदलीय जनवाद' पुष्पलालका यी चेलालाई मन परेन। उनी त्यसबेला चुपचाप जस्तै बसे। 

२०३० देखि स्याङजामै रहेको भानुभक्त माविको अध्यक्ष थिए उनी। २०४७ सम्म १५ वर्ष अध्यक्ष चलाएका न्यौपानेले त्यही अवधिमा नेटवर्क राम्रो बनाइसकेका थिए।

'२०२१ सालमा भानुभक्त मावि मैले मेरै पहलमा स्थापाना गरेको हुँ,' उनले भने, 'त्यही विद्यालयले मलाई सबैसँग सम्बन्ध बढाउन सहयोग गर्‍यो।'

कम्युनिष्टहरू सांगठनिक हुनुपर्छ भन्ने पुष्पलालको प्रशिक्षणबाट प्रभावित उनले त्यही कौशल गाउँमा देखाएको दाबी गर्न छुटाएनन्।

पञ्चायतमै कम्युनिष्ट भए पनि गाउँमा पक्की पुल र विद्यालय स्वीकृति गराउन सफल भएको उनले बताए। कतिसम्म भने अहिलेका माननीय (सांसद) ले एक करोड रुपैयाँ गाउँको विकासमा लैजान नसकेको भन्दै उनले असन्तुष्टि जनाए।

'जितेका माननीयले अहिले एक करोड लैजान सक्नु भएको छैन। मैले त्यसैबेला स्कुल, पक्की र झोलुङ्गे पुल लगेको थिएँ, कुनै पद नजिते पनि', न्यौपानेले भने।

माले हुँदै माओवादी 
अनि मैले सोधेँ, तपाईं माओवादी कसरी हुनुभयो? 

२०५४ सालमा एमाले फुटेपछि उनी वामदेव गौतमले नेतृत्व गरेको मालेतिर लागे।

'पुष्पलालको विचार बोकेको मैले बहुदलीय जनवाद मान्ने कुरा कहिले मन पराइनँ,' न्यौपानेले भने, 'अनि ०५४ सालमा वामदेवले पार्टी फुटाएपछि मालेतिर लागे। तर वामदेव एमालेमै फर्किएपछि म माओवादीतिर लागेँ।'

उनले यसबेला डा. बाबुराम भट्टराईलाई सम्झिए। 'मलाई बाबुरामले २०५६ सालमा माओवादीमा प्रवेश गराएका हुन्', उनले भने, 'मैले भन्न त प्रचण्ड, बाबुराम वा महरा जो भए पनि हुन्छ भनेको थिएँ। बाबुराम आएपछि म ३४ सय साथीहरु लिएर माओवादी बनेँ।

एमाले र माले एक भएपछि केही समय भूमिगत बनेर ती साथीहरु जम्मा गरेको उनले बताए।

त्यसयता न्यौपाने निरन्तर माओवादीमै छन्। प्रचण्डकै साथमा छन्। बाबुराम यताउता हुँदा उनी प्रचण्डलाई नछोडी बसे।

 'अहिले पुष्पलालकै दर्शन अनुसार देश चलेको छ, यसमा प्रचण्डले अघि सार्ने कार्यक्रम, योजना र नीति, कार्यदिशा मिल्छ, त्यही भएर म प्रचण्डसँगै छु,'  उनले सुनाए।

एमालेले पुष्पलालको नाम नै भुलिसकेको उनले बताए। 'एमालेले पुष्पलालको नामै लिँदैन, तर माओवादी केन्द्रले अहिलेसम्म बेलाबेला लिन्छ,' न्यौपानेले सम्झिए। 

२२ वर्षदेखि उनी माओवादी केन्द्रमा निरन्तर सक्रिय छन्, उस्तै जोश र जाँगरसहित।

ओलीप्रति आक्रामक 
उनी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिए। ओली कम्युनिस्ट नेता नभएको भन्दै १४ वर्ष जेल बस्नाको कारण पनि भन्दै थिए। उनले लगाएका कतिपय आरोपको पुष्टि नभएकोले यहाँ लेख्न सकिएन।

कम्युनिस्ट विचारलाई ओलीले छोडिसकेको निष्कर्ष उनले सुनाए।

८१ वर्षीय उनले माओवादीले फेरि पहिले जस्तै स्थान लिन फुटेर गएका सबै एकै ठाउँ हुनुपर्नेमा जोड दिए। 

'माओवादीबाट फुटेकाहरू सबै अब एकजुट हुनुपर्छ', उनले भने। न्यौपानेलाई अन्त्यमा सोधेँ, 'साँच्ची प्रचण्ड तपाइँलाई किन मन परेको? '

'म यो उमेरमा जुन जोश र उत्साहले स्याङजादेखि काठमाडौं आए नि, प्रचण्डमा पनि त्यस्तै उत्साह छ र पार्टीलाई चलाइरहेका छ,' उनले एक श्वासमा सुनाए। 

माओवादी केन्द्रले आइतबारदेखि महाधिवेशन गर्दैछ। यो महाधिवेशनले एउटा क्रान्तिकारी पार्टीसहितको नेतृत्व, विचार र कार्यदिशा ल्याउने कुरामा उनी ढुक्क छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .