ad ad

राजनीति


‘राप्रपामा विरासतको राजनीति गर्‍यो भन्थे, अब त थाहा पाए होलान्’

भन्छन् : कार्यकर्ता र जनतामाझ स्वीकार्य रहेछु
‘राप्रपामा विरासतको राजनीति गर्‍यो भन्थे, अब त थाहा पाए होलान्’

फाइल तस्बिर


उजिर कार्की
पुस ५, २०७८ सोमबार १४:४०, काठमाडौँ

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आफूले ठूलो अग्निपरीक्षा पास गरेको बताएका छन्। 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट आइतबार खुला केन्द्रीय सदस्यमा निर्वाचित भएपछि थापाले आफू पार्टी र नेपाली जनतामाझ स्वीकारयोग्य रहेको पुष्टि भएको बताए। 

‘म राप्रपामै रहिरहेको भएको भए यसले बुवाको विरासतको राजनीति गर्‍यो भन्थे। समाजसँग घुलमिल नै छैन भन्थे', नेपालखबरसँग कुरा गर्दै उनले भने, 'नेपाली कांग्रेसमा आएपछि विरासतको राजनीति छाडेर, लोकतान्त्रिक पद्धतिभित्र छिरेर जुन आफ्नो कुशलता देखाउन पाएँ। ठूलो अग्नि परिक्षा थियो, त्यो पास गरेँ।’

उनका बाबु सूर्यबहादुर थापासहितले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेका थिए। बुवाले खोलेकै पार्टीबाट उनको राजनीति सुरु भएको थियो।

तर उनी बुवाको निधनसँगै राप्रपाबाट निस्किएर कांग्रेसतिर लागेका थिए। उनीमाथि राप्रपामा रहँदा बुवाको विरासतको आडमा राजनीतिक उचाई लिन सकेको आरोप लाग्न गरेको थियो। 

राप्रपाबाट कांग्रेसमा प्रवेश गरे पनि कोभिडको जोखिमका कारण कार्यकर्तासँग घुलमिल हुन नपाएको उनले बताए। तर अब केन्द्रीय सदस्य जितिसकेकाले कार्यकर्तामाझ भिज्दै अघि बढ्ने थापाले बताए।

‘राप्रपाबाट आएका साथीहरुले पनि यसपालि तपाईँ मात्रै उठ्नुस् भनेका थिए। समझदारी अनुसार म उठेको हो। मैले नेपाली कांग्रेसभित्र जुन १४ औँ स्थान पाएँ। यो नै मेरा साथीभाइको व्यवस्थापनले गर्दा नै हो’, उनले भने, ‘जिल्ला तहमा धेरै साथीहरु आ-आफ्नो ढंगले व्यवस्थापन भइसकेका छन्। मुख्य केन्द्रमा हो, केन्द्रमा पनि हामी बिस्तारै मिलाउँछौं।’

सानेपामा मतगणना भइरहँदा कार्यकर्तासहित बसेका सुनिलबहादुर थापा। तस्बिर: उजिर कार्की/नेपालखबर

राप्रपामा ६ वर्ष बिताएर डेढ वर्षअघि थापा अन्य नेता कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका थिए। 

कांग्रेसमा आएपछि उनलाई सभापति शेरबहादुर देउवाले सहमहामन्त्री मनोनित गरे। यसपटकउनले केन्द्रीय सदस्यमा चुनाव लडेका हुन्। 

राप्रपामा जस्तो राजनीति गर्न कांग्रेसमा सहज नरहेको प्रतिक्रिया पनि उनले दिएका छन्। 

‘राप्रपामा हुँदा मलाई 'कम्फर्ट जोन' थियो। किनभने त्यहाँ बुवाको बिरासतले पनि काम गर्थ्यो। यसलाई त्यसै पनि भोट दिइहाल्छन्, केही गर्नु पर्दैन भन्ने थियो', उनले भने, 'अहिले कांग्रेसमा नेताहरुसँग सहकार्य गर्नु ठूलो कुरा हो। ठूलो चुनौती पनि थियो। तर एक डेढ वर्षमा कार्यकर्तासँग घुलमिल भएर म केन्द्रीय सदस्यमा निर्वाचित भएँ, खुसी छु।’

यसअघि सहमहामन्त्री भए पनि केन्द्रीय सदस्यमा उठेर आफू पछाडि नफर्किएको बताउँदै उनले पदलाई गौण कुराको संज्ञा दिए। 

‘राजनीति गर्न एउटा टेक्ने ठाउँ चाहिन्छ। मैले कांग्रेसमा अहिले टेक्ने ठाउँ पाएँ। अब यहीँबाट अगाडि बढ्छु’, उनले भने। 

थापा खुलातर्फ कांग्रेसको ३५ जना केन्द्रीय सदस्यमध्ये १४ औं नम्बरमा निर्वाचित भएका छन्। उनले २ हजार ४ सय ७२ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .