राजनीति


७४ जिल्लामा एकीकृत समाजवादीको संगठन, मनाङ, मुस्ताङ र दार्चुलामा पुग्नै बाँकी

७४ जिल्लामा एकीकृत समाजवादीको संगठन, मनाङ, मुस्ताङ र दार्चुलामा पुग्नै बाँकी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १५:२८, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ। 

दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ। आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा गठन गरेको छ। ती समितिमा अध्यक्षको नेतृत्वमा दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिवको व्यवस्था गरिएको छ। प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ। 

पार्टीले गत असोजमा २४ बुँदे तत्कालीन कार्ययोजना पारित गरी देशभरका पार्टी कमिटी तथा सङ्गठनलाई अन्तरपार्टी निर्देशन दिएको छ। 

उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ।

 त्यसअन्तर्गत जनसंगठनका कमिटी पनि पर्दछन्। त्यही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिएको छ। प्रत्येक जिल्लामा समन्वय कमिटी समेत निर्माण गरिएको छ। 

प्रत्येक वडामा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य बनाइने छ। सक्रिय सदस्यलाई एकताबद्ध गरी सङ्गठित सदस्यमा समावेश गरिने छ भने पार्टीका समर्थक तथा निष्क्रिय सदस्यलाई पार्टी सदस्यमा एकीकृत गरिने नीति छ। 

उक्त समिति अन्तर्गत सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र निर्माण गरिएको छ। 

विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तत्कालीन कार्ययोजनामा समावेश गरिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए।

पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले विभिन्न मापदण्डका आधारमा ३३५ केन्द्रीय सदस्य मनोनित गरेको छ। 

पार्टीले निर्माण गरेको मापदण्डअनुसार केन्द्रीय कमिटीका पूर्वसदस्य (एमालेकालीन), नेकपा हुँदाको केन्द्रीय कमिटीका सदस्य, नवौं महाधिवेशनमा केन्द्रीय कमिटी-आयोग सदस्यका उम्मेदवार बनेका, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्वसदस्य, जिल्ला कमिटीका प्रमुख भइसकेका, महिलाको हकमा जिल्ला कमिटी सदस्य भएकासम्म र विभिन्न जनसंगठनका केन्द्रीय पदाधिकारी भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन गरेको छ।

प्रदेश कमिटीको संयोजनमा जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जबीच सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरेर कार्य विभाजन गरिएको पोलिटब्युरो सदस्य दिलुकुमारी पन्तले बताइन्। 

 विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ। केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सङ्गठन निर्माणको विशेष योजना बनाएर काम गर्ने र प्रत्येक महिना आफूले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनु पर्नेछ। 

कामका आधारमा केन्द्रीय कमिटीका सदस्यको मूल्याङ्कन हुनेछ। पार्टी अध्यक्ष नेपाल, केन्द्रीय सचिवालय तथा महासचिव डा. बेदुराम भुसालसमेतका वरिष्ठ नेता रहेको केन्द्रीय कार्यालय गठन गरी पार्टीले राजनीतिक गतिविधि अगाडि बढाएको छ। 

शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको छ। 

उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने छ। त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ। पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ। 

उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्ष रहनेछन्।

ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने छ। हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ। 

केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह-इञ्चार्जको जिम्मेवारी दिन सक्नेछ। 

यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन्। 

केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad