नेपाल बार एसोसियशनमा पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्कालै पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्।
नेपाल बार एसोसिएशनले आइतबार सर्वोच्च अदालत परिसरमा जबराविरुद्ध गरेको धर्ना कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले आक्रोश पोखेका हुन्।
उनले न्यायालयलाई पशुपतिनाथ जस्तै पवित्र संस्थाको संज्ञा दिए। विवादमा आइसकेकाले बारले मागिसकेपछि प्रधानन्यायाधीश जबराले राजीनामा दिनैपर्नै अडान पनि राखेका छन्।
'हामीले सम्मानपूर्वक राजीनामा मागेका हौँ', उनले जबरालाई भने, 'बारले मागिसकेपछि राजीनामा नदिने तपाईँ को हो?'
थापाले प्रधानन्यायाधीशलाई पशुपतिनाथको मूल भट्टसँग तुलना गरे। 'न्यायालय पशुपतिनाथ जस्तै हो। त्यसभित्रको प्रधानन्यायाधीश मूल भट्ट हो', उनले भने, 'तर, तपाईँले मूल भट्टले जसरी काम गर्न सक्नुभएन। अब तपाईँले राजीनामा दिनुपर्छ। न्यायालयको संरक्षक नेपाल बार भएकाले तपाईंको राजीनामा मागिसक्यो, राजीनामा नदिने तपाईं को हो?’
प्रधानन्यायाधीशले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको पनि थापाले आरोप लगाएका छन्। जबराले पद नत्यागेर अहिलेको संकट टार्ने दिशामा अघि बढेको पनि उनले बताए। अहिले मुद्दाका पीडित जस्तै वकिलहरु पनि समस्यामा परिसकेको उनको तर्क थियो।
Shares

प्रतिक्रिया