राजनीति


रत्नमन्दिर र हिमागृह खुला गर्न पहल गर्छुः प्रचण्ड

रत्नमन्दिर र हिमागृह खुला गर्न पहल गर्छुः प्रचण्ड

नेपालखबर
असार ५, २०७६ बिहिबार १२:३९,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा रहेका रत्नमन्दिर र हिमागृह तत्काल खुला गर्न आफूले पहल गर्ने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले बिहीबार आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा पूर्वराजपरिवारका सदस्यको स्वामित्वमा रहेको र हाल नेपाल ट्रष्टको मातहतमा रहेका यी दुई दरबार खुला गर्न केही समस्या नभएको स्पष्ट पारे।

हिमागृह र रत्नमन्दिर खुलाउने सन्दर्भमा कठिनाइ नभएको र मन्त्रिपरिषद्ले निर्णय गरे हुने बताउँदै उनले भने, ‘दरबार सर्वसाधारणका लागि खुला गर्दा पोखरामा पर्यटक बढछ र उनीहरुको बसाईं कमसेकम एक दिन, नभए पनि आधा दिन थपिन्छ।’

गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा निजका परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटीलगायतका दरबार खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने लामो सयमदेखि बन्द रहँदै आएका छन्।

संघीय सरकारमा पर्यटनमन्त्री नभएर पनि पर्यटन क्षेत्रमा समस्या भएको भन्ने व्यवसायीको भनाइप्रति सहमत हुँदै अध्यक्ष प्रचण्डले अहिले मन्त्रिपरिषद् पुनःगठनका बारेमा पनि छलफल चलेकाले र सरकारको समीक्षा भईरहेको र चाँडै निर्णय हुने बताए।

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले फेवाताल रहेमात्र पोखराको अस्तित्व रहने बताउँदै संघ, प्रदेश तथा स्थानीय तीनै सरकारको नीति, कार्यक्रम तथा बजेटमा ताल संरक्षण प्राथमिकतामा नपरेको गुनासो गरे। उनले पर्यटनमन्त्रीको अभावमा नेपाल भ्रमण वर्ष लगायतका कार्यक्रम अघि बढ्न नसकेको बताउँदै यस क्षेत्रमा अभिभावकत्वको आवश्यकता रहेकाले छिटो पर्यटनमन्त्री नियुक्त गर्न माग गरे।

फेवाताल संरक्षण उच्चस्तरीय समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले तालका बारेमा पटकपटक प्रतिवेदन तयार पार्ने काम मात्र भएको र कार्यान्वयन कहिल्यै नभएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेतर्फ तीनै तहका सरकार लाग्नुपर्ने बताए।

कार्यक्रममा पर्यटन व्यवसायी बासु त्रिपाठी, अग्नी कँडेल, भरतराज पराजुली, गोपीराज भट्टराई तथा टीकाराम सापकोटालगायतले पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गरिनुपर्नेमा जोड दिए।

परिषद्कातर्फबाट फेवाताल संरक्षण, पोखरा–चितवन–लुम्बिनी द्रुतमार्गको थालनी, पोखराबाट देशका अन्य शहरमा सिधा हवाई सम्पर्क स्थापना, हिमागृह र रत्न मन्दिर खुला गर्ने तथा पोखरा चक्रपथ निर्माण अघि बढाउनेलगायतका मागसहितको अनुरोधपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad